काठमाडौं।
नेपाली सेनाको आयोजनामा राजधानीको सैनिक मञ्च टुँडिखेलमा घोडेजात्रा समारोह–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
परम्परागत रूपमा मनाइने घोडेजात्रा उत्सवअन्तर्गत यस वर्ष पनि विविध आकर्षक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा टांगन घोडा दौड, चार्जर घोडा दौड, टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ, शो जम्प तथा सैनिक कुकुरहरूको विशेष कला प्रदर्शनले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।
प्रतिस्पर्धात्मक खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने सैनिकहरूलाई समारोहका प्रमुख अतिथिद्वारा पुरस्कार प्रदान गरिएको थियो। शो जम्पतर्फ सहसेनानी प्रविन लामिछाने प्रथम र जमदार रामबहादुर दाहाल द्वितीय हुन सफल भए भने टेन्ट पेगिङतर्फ सहसेनानी विकल्प थापा प्रथम र सिपाही सन्तोष भण्डारी द्वितीय घोषित भए।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीपरिषद्का सदस्यहरू, विभिन्न संवैधानिक निकायका प्रमुखहरू, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै सन्दर्भमा, अघिल्लो दिन अर्थात् चैत्र ३ गते समसामयिक सुरक्षा अवस्थाबारे पूर्व प्रधान सेनापतिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।
घोडेजात्रा पर्व काठमाडौं उपत्यकामा परम्परागत रूपमा विशेष महत्वका साथ मनाइँदै आएको सांस्कृतिक उत्सव हो, जसले नेपाली सेना र जनसमुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।
