१२ पौष , काठमाडौँ – आगामी १६ पुसमा खरिद सम्झौताको म्याद सकिने १ सय ४५ मेगावाट बिजुलीको नवीकरणमा भारतले चासो नदेखाएपछि विद्युत् आयात अन्योलमा परेको छ ।
नवीकरणबारे छलफल गर्न तय भएको नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक स्थगित भएपछि नेपाल विद्युत् प्राधिरकण आफैंले नवीकरणका लागि भारतलाई पत्राचार गरेको थियो । तर पत्रको जवाफ नआएपछि विद्युत् संकट टार्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं भारत जाने भएका छन् । घिसिङले नवीकरणको पहलका लागि बुधबार (आज) भारत जान लागेको बताए ।
नेपाल र भारतका सचिवस्तरीय संयुक्त स्थायी समितिको बैठक स्थगन भएपछि विद्युत् प्राधिकरणले गत मंगलबार विद्युत् आयातको म्याद पुनः तीन महिना थप गर्न एमभीभीएनलाई पत्राचार गरेको थियो । उसले सो पत्रको जवाफ नपठाएपछि सम्झौता गर्न प्राधिकरणको उच्चस्तरीय टोली दिल्ली जान लागेको हो ।
पूर्ववत् सम्झौताअनुरूप नवीकरण नभए पुनः लोडसेडिङ हुने निश्चित छ । त्यस्तो विकराल अवस्था आउन नदिई अवस्थालाई सामान्यीकरण गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ आफैं भारत जान लागेका हुन् ।
यो खबर आजको राजधानीमा छ ।