२२ पौष , काठमाडौँ – सरकारले राष्ट्रिय सभा निर्वाचन २४ माघमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको हो । यसअघि निर्वाचन आयोगका आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ माघमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सुझाब दिएका थिए । बाँकी रहेको एक महिना निर्वाचन तयारीमा खर्च हुने आयोगको भनाइ छ । सरकारले आयोगकै सुझाबअनुसार निर्वाचनको मिति घोषणा गरेको जनाएको छ । बिहीबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले प्रस्ताव गरेको मितिबारे जानकारी गराएका थिए । उनले उपयुक्त मितिबारे दलहरूको सुझाब मागेका थिए । तर, एमाले र माओवादी नेताहरूले निर्वाचनका लागि ठोस सुझाब दिएनन् । दुवै दलका नेताले जतिसक्दो चाँडो राष्ट्रिय सभा निर्वाचन गर्न माग गरेका थिए ।
किन २४ माघ ?
कानुनमन्त्री यज्ञबहादुर थापाले आयोगकै सुझाबका आधारमा मिति तोकिएको बताए । ‘आयोगले २५ माघको मिति प्रस्ताव गरेको थियो, सरकारले एक दिनअघि मिति तोकेको छ,’ उनले भने । थापाले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणासँगै राजनीतिक गतिरोध फुकेको बताए ।
एक महिनामा के-के काम हुन्छन् ?
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पुस मसान्तसम्म दल दर्ताको समय दिएको छ । त्यसपछि निर्वाचनका लागि सातवटै प्रदेशमा मतदाता नामावली संकलन गर्ने, सबै प्रदेशमा निर्वाचन कार्यालय खोल्ने, उच्च अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको सबै तयारी पूरा गर्न एक महिना लाग्ने बताएको छ । त्यही आधारमा एक महिनापछि राष्ट्रिय सभा निर्वाचनको मिति प्रस्ताव गरेको आयोगको भनाइ छ । आयोगले मतपत्र छपाइ, उम्मेदवारी दर्ता, दाबी–विरोध र चुनावी प्रचारसहितका तयारी यही एक महिनाभित्र हुने जनाएको छ ।
यसरी हुन्छ निर्वाचन
सातवटै प्रदेशमा निर्वाचन हुँदा त्यहाँका मतदाताले सोही प्रदेशका उम्मेदवारलाई मात्र मत दिनुपर्नेछ । प्रत्येक प्रदेशबाट आठजनाका दरले ५६ जना निर्वाचित हुन्छन्, यसमध्ये तीनजना महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यक र तीनजना सदस्य खुलाबाट निर्वाचित हुन्छन् । जसमा तीन–तीनजना महिला र खुला सदस्य एकल संक्रमणीय विधिबाट निर्वाचित हुन्छन् । एकजना दलित, एकजना अपांगता वा अल्पसंख्यक बहुमतीय प्रणालीबाट निर्वाचित हुन्छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा तीनजना राष्ट्रपतिबाट मनोनीत हुन्छन् । मनोनीतमा पनि एकजना महिला हुनुपर्छ ।
कस्तो मतपत्र हुन्छ ?
महिला र खुलाका लागि छुट्टै तथा दलित र अपांगता वा अल्पसंख्यकका लागि छुट्टाछुट्टै मतपत्र हुनेछन् । मतभार छुट्याउन प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतपत्र पनि छुट्टाछुट्टै रङका हुन्छन् । जम्मा मतदाता २०५६ छन् । जसमा ५५० प्रदेश सभा सदस्य र १५०६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यको मतभार ४८ राखिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ राखिएको छ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।