१७ माघ , काठमाडौँ – सधैँ व्यस्त रहने नयाँ बानेश्वरस्थित छक्कुबक्कु पार्कमा मंगलबार ‘जुत्ता पोलिस’ गर्नेहरूको संख्या ठूलो थियो । सर्वसाधारणलाई ‘जुत्ता पोलिस’ गर्न आग्रह गर्दै थिए, देशकै चर्चित राजनीतिज्ञहरू ।
कांग्रेस केन्द्रीय सदस्यद्वय चन्द्र भण्डारी र धनराज गुरुङ, पूर्वसभामुख दमननाथ ढुंगाना, वरिष्ठ अधिवक्ता तथा पूर्वसांसद राधेश्याम अधिकारी, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललगायत नेताहरू हातमा ब्रस र भुइँमा कागज राखेर लहरै बसेका थिए ।
उनीहरूले यो बाटो भएर हिँड्ने थुप्रैको ‘जुत्ता पोलिस’ गरे । राजनीतिक शुद्धीकरणका लागि प्रतीकात्मक रूपमा दबाब दिन कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले ‘जुत्ता पोलिस’ कार्यक्रम आयोजना गरेको होे ।
पूर्वसभामुख ढुंगानाको अध्यक्षतामा गठित प्रतिष्ठानले आफैँबाट राजनीतिक शुद्धीकरणको सुरुवात गर्न भन्दै यस्तो कार्यक्रम राखेको हो ।
कार्यक्रममा मानवअधिकारवादी, कांग्रेस कार्यकर्ता, राजनीतिक व्यक्तित्व मात्रै सहभागी भएनन्, त्यो बाटो हिँड्ने सर्वसाधारणले पनि स्वतःस्फूर्त रूपमा सहभागिता जनाए ।
किसुनजीजस्ता नेताको आचरण र सिद्धान्त अहिलेको पुस्तालाई बुझाउनका लागि कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
‘यो सांकेतिक हो । किसुनजीजस्ता सन्त नेताको आचरण र सिद्धान्त पुस्तान्तरण गर्न प्रतीकात्मक कार्यक्रम सुरु गर्यौँ,’ प्रतिष्ठानका महासचिव विनोद भट्टराईले भने, ‘राजनीतिक शुद्धीकरणको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने अवधारणास्वरूप प्रतिष्ठानले पहिलो कार्यक्रम नै प्रतीकात्मक गर्यो ।’
यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।