धनगढी, फागुन १४ – टिकापुर घटनाको मुख्य योजनाकारको आरोप लागेर फरार सूचिमा रहेका कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको अहिले कैलाली जिल्ला अदालत कैलालीमा बयान चलिरहेको छ ।
जिल्ला अदालत कैलालीमा बिहान ११ बजे उपस्थित भएका चौधरीको अहिले बयान लिने कार्य भईरहेको अदालत श्रोतले जनाएको छ । चौधरीको पक्षबाट बहस गरिरहनुभएका अधिवक्ता गंगाराम पाध्यायले वयानपछि केही बेरमा वादी र प्रतिवादी अधिवक्ताहरुबीच वहस सुरु हुने बताउनुभयो ।
उहाँको पक्षमा पाध्यायसँगै अधिवक्ताहरु मिलन राई र गजेन्द्र केसीले बहस गर्नेछन् भने सरकारको तर्फबाट जिल्ला न्यायाधीवक्ता प्रकाशबहादुर भण्डारी सहितका अधिवक्ताले बहस गर्नेछन् । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलास राखिएको छ । चौधरीलाई धरौटीमा राख्ने, तारेखमा राख्ने वा थुनामा पठाउने मध्ये कुनै एउटा सम्भवना रहेको अधिवक्ता पाध्यायले बताउनुभयो ।
यस्तै चौधरीले अदालतमा आत्मसमर्पण गरेपछि अदालत परिषरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चौधरी राष्ट्रिय जनता पार्टीबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।
०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाको मुख्य योजनाकार चौधरी भएको दावी गर्दै उनीसहित ५६ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाक चोरी मुद्दा लगाइएको छ ।
त्यो मुद्दामा २५ जना जिल्ला कारागार कैलालीमा छन् भने अन्य सबै फरार सूचीमा रहेका छन् ।