१२ चैत्र , नवलपरासी – वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् ।
कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ ।
घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल दाससँग काठमाडाैँसम्म आएको घिमिरेका बुबा मोहोनीलालले बताउनुभयो । उनले तीन वर्षदेखि कमाएको रकम एकमुष्ट बोकेर फर्किएका थिए ।
चार वर्षअघि वैदेशिक रोजगारीका लागि कतार गएका घिमिरे कतारको अल बैयाद कम्पनीमा काम गर्थे । कम्पनीमा रहँदासमेत घिमिरे परिवारको सम्पर्कमा आएका थिएनन् ।
रोजगारीमा रहँदा सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दै कम्पनीमा सम्पर्क गरेको र कम्पनीले परिवारको आग्रहमा घर पठाएको घिमिरेका बुुबाले जानकारी दिनुभयो । घिमिरे कतारबाट नेपाल आएको १३ दिनपछि मात्र परिवारले उनी नेपाल आएको जानकारी पाएका थिए ।
छोरो लामो समयसम्म घर नआएपछि कम्पनीमा सम्पर्क गर्दा नेपाल फर्किएको जानकारी पाएपछि कम्पनीले उपलब्ध गराएको पासपोर्ट, हवाई टिकटको प्रतिलिपी लिएर विमानस्थल पुगेर सिसिटिभी फुटेज हेर्दा छोरो नेपाल आएको र साथीको बीचमा ठूलो लगेज घिसार्दै बाहिर निस्केको देखिएको मोहोनीलालले बताए ।
बाबु मोहोनीलालले छोराले रकम नेपाल नपठाइ एकैपटक बोकेर आउँदा समस्यामा परेको हुनसक्ने अनुमान गरेका छन् । मेरो छोरालाई सँगै आउने साथीहरुले अपहरण गरेको आशंका छ घिमिरेले भने । उसलाई साथीले नै अपहरण गरेको हुनसक्ने भन्दै प्रहरीमा निवेदन दिएको मोहोनीलालले बताए ।
उनी नेपाल उत्रिएर पनि घर नपुगेपछि परिवारले खोजीका लागि अरुणखोला र चोरमारा प्रहरी चौकीमा खोजीका लागि निवेदन दिएका छन् । तर त्यहाँबाट खासै कुनै उपलब्धि नभएपछि परिवारले काठमाडौँ गएर गौशालामा प्रहरीलाई निवेदन दिएका छन् ।
रासस