१२ चैत्र , गुल्मी – रेसुङ्गा नगरपालिका १२ की २७ वर्षीया सकुन्तला घर्तीका श्रीमान् रोजगारीका लागि विदेशमा छन् ।
घरको जिम्मेवारी सम्मालेकी उनी १४ फागुनबाट परिवारको सम्पर्कमा छैनन् । एउटा छोरासमेत घरमै छाडेर हिँडेकी सकुन्तालाको अहिलेसम्म अत्तोपत्तो छैन् । परिवारका सदस्यहरु दुई दिनसम्म उनको प्रतिक्षामा बसे र आफन्तहरुको खोजतलास गरे ।
अन्ततः देवर रामबहादुर घर्तीले १६ फागुनमा प्रहरीमा भाउजु हराएको उजुरी दिए । रुरु गाउँपालिका ५ बम्घाकी २७ वर्षीया हेमा राना १ चैतमा कपडा धुन भन्दै घरबाट हिँडिन् । हेमा आउने आशामा परिवारका सबै सदस्यहरु पर्खेर बसे तर उनी आइनन् । सोधीखोजी गर्दा पत्तो नगागेपछि सासुआमा यममाया रानाले ५ चैतमा जिल्ला प्रहरी कार्यालयमा बुहारी हराएको उजुरी दिइन् । रेसुङ्गा नगरपालिका–८ का १५ वर्षीया दीपक खनाल २५ पुसमा घरबाटै हराए । सोहि दिन नै आमा पार्वती खनालले जिल्ला प्रहरी चौकीमा छोरा हराएकोले खोजी गरिदिन भन्दै उजुरी दिइन् । तर अहिलेसम्म कुनै खबर परिवारमा आएको छैन् ।
प्रत्येक वर्ष हराउनेको संख्यामा बृद्धि
जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क हेर्दा हराउने मानिसहरुको सुची डरलाग्दो छ । आर्थिक वर्ष २०७४÷७५ को पछिल्लो ८ महिनामा मात्रै ९८ जना हराएको उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । हराएकामध्ये सबैभन्दा धेरै महिला ६८ जना छन् । जुन कुल सङ्ख्याको ६९.३८ प्रतिशत हो । बालक ७ जना र बालिका १५ जना रहेको महिला तथा बालबालिका सेलकी झरना परियारले जानकारी दिइन् । त्यस्तै पुरुष ९ जना हराएका छन् । हराएका कुल ९८ जनामध्ये २० जना फेला परिसकेका छन् भने ७८ जना अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । हराएका ६८ महिला मध्ये १२ जना फेला परेका छन् । ५४ महिलाहरुको अत्तोपत्तो छैन् ।
त्यस्तै साउनदेखि फागुनसम्म ७ जना बालक हराएका छन् । जसमध्ये एकजना फेला परेका छन् भने ६ जना सम्पर्कमा आउन सकेका छैनन् । बालिका पनि १५ जना हराएको तथ्याङ्क प्रहरी कार्यालयमा छ । जसमध्ये पाँच जना भेटिएको र १० जना सम्पर्क बाहिर रहेको प्रहरीले जनाएको छ ।
यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।