रामेछापका प्रकाशराजले सगरमाथा आरोहण गर्ने (विज्ञप्तिसहित)
नयाँ पत्रिका काठमाडौं, २७ चैत | ०१ घन्टा अगाडि
रामेछाप जिल्लास्थित लिखु तामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले सगरमाथा आरोहण गर्ने भएका छन् । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै उनले बालअधिकारका लागि चेतना फैलाउन आफूले बुधबारदेखि सगरमाथा आरोहण गर्न लागेको जानकारी दिए ।
स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका पाण्डेले नेपालको पर्यटन विकासमा योगदान पुर्याउने, बालबालिकाको हक अधिकारलाई सगरमाथाको चुचुरोबाट उठाउने, विभिन्न देशका स्काउटलाई सगरमाथा चढ्न आह्वान गर्ने उद्देश्यले सगरमाथा आरोहण गर्न लागेको बताए ।
उनले भने -‘यस अगाडि रसुवा जिल्ला स्थित ५ हजार ८ सय ९० मिटर उचाईको बेडेन पावेल स्काउट पिक दुई पटक, ६ हजार १ सय ६० मिटर अग्लो आइस ल्याण्ड पिकको समेत सफलता पुर्वक आरोहण गरि सकेको छु ।’ उनले सगरमाथा आरोहणमा ४५ लाख खर्च लाग्ने र बचेको रकम भूकम्पपीडित क्षेत्रका बालबालिकाको लागि खर्च गर्ने बताए ।
पाण्डेले नेपालको राष्ट्रिय झण्डा, नेपाल स्काउट र विश्व स्काउटको झण्डा, राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर सगरमाथामा पुर्याउने बताए ।
पत्रकार सम्भेलन कार्यक्रममा प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले पाण्डेको आरोहणले रामेछाप र नेपालको परिचयलाइ विश्व माझमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले स्काउटमा लागेर विश्वको सर्वोच्च शिखर सगरमाथा पुग्नु देशकै गौरव कार्य भएको धारणा राखे।
युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले देशका एक करोड सात लाख युवाको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेकामा उनलाइ शुभकामना व्यक्त गरे । पाण्डेलाइ सगरमाथामा फहराउने नेपालको राष्ट्रिय झण्डा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस अगाडि नै हस्तान्तरण भइसकेको छ भने अन्य झण्डा तथा तस्विर प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलमार्फत आज हस्तान्तरण गरिएको हो । पाण्डेसँग अन्य ८ जनाले सगरमाथा आरोह गर्दै छन् ।
उनले पत्रकार सम्भेलनमा सार्वजनिक गरेको प्रेस विज्ञप्ती यस्तो छ
प्रेस विज्ञप्ति
२०७४/१२/२७ गते
“बाल अधिकारका लागी सगरमाथा आरोहण–२०१८”
Mount Everest Expedition 2018 for Children’s Rights
आदरणीय सञ्चारकर्मी मित्रहरु,
नेपालमा आरोहण पर्वतीय पर्यटनको सुरुवात सन् २०२२ देखि भएको मानिन्छ । विशेष त हिमाली भेगमा बसोबास गर्ने नागरिकहरुको पर्वतीय पर्यटनले आर्थिक रुपमा महत्वपूर्ण सहयोग पुर्याएको छ । त्यती मात्र नभई यसले समग्र देशको पर्यटनमा ठूलो भूमिका निर्वाह गरेको छ भने राष्ट्रिय ढुकुटीमा पनि टेवा पुर्याएको छ ।
यसै सन्दर्भमा म रामेछाप जिल्ला लिखु गाउँपालिका वडा न। ७ निवासी प्रकाशराज पाण्डे यहि चैत्र २८ गते देखि “बाल अधिकारका लागी सगरमाथा आरोहण– २०१८” (Mount Everest Expedition 2018 for Children’s Rights) भन्ने नाराका साथ आरोहणको तयारी गरी रहेको छु । विगत ११ वर्ष देखी नेपाल स्काउटको स्काउटिङ्क शैक्षिक अभियानमा क्रियाशिल रहदैँ बालबालिका तथा किशोरकिशोरीहरुको शारिरिक, मानसिक, वौद्धिक, सामाजिक, आध्यात्मिक एवं सम्वेगात्मक भावनाको विकास गराउँदै आएको छु ।
सगरमाथा आरोहणको तयारीका क्रममा यसअघि मैले रसुवा जिल्ला स्थित ५ हजार ८ सय ९० मिटर उचाईको बेडेन पावेल स्काउट पिक दुई पटक आरोहण गरि सकेको छु । सो हिमाल आरोहण गर्ने म नेपाल स्काउटको दोश्रो स्काउट लिडर हुँ । साथै मैले ६ हजार १ सय ६० मिटर अग्लो आइस ल्याण्ड पिकको समेत सफलता पुर्वक आरोहण गरी सकेको छु ।
सगरमाथा आरोहणको उद्देश्य
– बाल अधिकारकाको सवालमा उनिहरुको हक, अधिकारको आवाज अन्तर्राष्ट्रिय रुपमा सगरमाथाको चुचुरोबाट उठाउने ।
– समग्र नेपालको पर्यटनको विकासमा योगदान पुर्याउने ।
– स्काउटको माध्यबाट एकै पटक विश्व व्यापी रुपमा नेपालमा पर्यटक भित्त्राउन पहल गर्ने र साहाशीक कार्य गर्न इच्छुक विभिन्न देशका स्काउटहरुलाई आव्हान गर्ने ।
सगरमाथा आरोहण पछिको कार्य
– विभिन्न समस्यामा रहेका बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्य र खेलकुद जस्ता आधारभूत आवश्यकता पुरा गर्न पहल गर्ने ।
– विभिन्न समस्यामा परेका बालबालिकाहरुलाई सम्वन्धीत संघसंस्थाहरुसँगको सहकार्यमा उद्दार गर्ने।
– नेपालको पर्यटन प्रवर्द्धन गर्न सम्बन्धीत निकायसँग मिलेर पहल गर्ने ।
सगरमाथाको शिखरमा पुर्याइने झण्डा तथा चिन्ह्हरु
– सगरमाथामा नेपालको झण्डासँगै आधिकारिक रुपमा पहिलो पटक नेपाल स्काउटको झण्डा र पहिलो पटक विश्व स्काउट संगठनको झण्डा फहराउने ।
– म्यासेन्जर अफपिसको लोगो पहिलो पटक चुचुरो पुर्याइने ।
– नेपालका चार शहिदहरुको तस्वीर पहिलो पटक चुचुरो पुर्याइने ।
– सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्दै युवा परिषदको झण्डा पहिलो पटक सगरमाथामा फहराउने ।
– ललितपुर स्काउट स्वर्ण जयन्तिको लोगो चुचुरोमा पुर्याइने ।
मैले सगरमाथा आरोहण गर्नु भनेको विश्वका ५० मिलियन भन्दा बढी स्काउटको र देशका सम्पूर्ण युवाहरुको प्रतिनिधित्व गर्नु हो भन्ने ठानेको छु । अहिलेसम्म जो जसले मेरो आरोहण अभियानलाई सहयोग गर्नु भएको छ, उहाँहरु प्रति कृतज्ञता जनाउदछु र अझ सबैबाट यस्तै सहयोग प्राप्त हुने र यो अभियानले सफलता प्राप्त गर्नेमा पनि म विश्वस्त छु ।
यो आरोहणको सम्पूर्ण प्राविधिक सहयोग पाइनियर एड्भान्चर प्रा.लि.ले गरेको छ भने यसै प्रा.लि.का संचालक लाक्पा शेर्पा आधिकारी गाईडको रुपमा रहनु हुनेछ । संखुवासभा निवासी गाईड शेर्पा के टु हिमाल आरोहण गर्ने अहिलेसम्म कै सवै भन्दा कान्छो आरोही हुनुहुन्छ ।
अन्यत्यमा यहाँसम्म आएर मेरो अभियानलाई साथ दिन र आरोहण अभियानलाई हैसला प्रदान गर्न उपस्थित भई दिनु भएकोमा सम्पूर्ण आदरणीय सञ्चारकर्मी तथा बुद्धीजिवीहरुमा म आभार प्रकट गर्दछु ।
सहयोग र सद्धावको अपेक्षा सहित ।
प्रकाशराज पाण्डे
लिखु ७, रामेछाप
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।