घुस माग्ने वन अधिकृतलाई सेवाग्राहीले कार्यकक्षमै थुने !
दीपक भट्ट रामेछाप | ३३ मिनेट अगाडि
सेवाग्राहीसँग ५ लाख घुस लिएर काठ लैजान अनुमति नदिएका जिल्ला वन अधिकृत रामविचारी ठाकुरलाई उनकै कार्यकक्षमा सेवाग्राहीले थुनिदिएका छन् । मगंलवार दिउँसो सेवाग्राहीसँग खयर जातको गोलिया काठ बाह्य जिल्लामा लैजाने अनुमति दिने बताएका थिए । तर, त्यसबापत ५ लाख रकम दिनुपर्ने भन्दै सेवाग्राहीसँग मागेका थिए । आक्रोशित सेवाग्राहीले उनलाई कार्यकक्षमै थुनेका हुन् ।
सेवाग्राहीले कार्यकक्षमा ताल्चा लगाएर थुनिदिएपछि वन अधिकृत ठाकुर डाँको छाडेर रोएका थिए । अधिकृत रोएको आवाज कार्यकक्ष वाहिरसम्म नै सुनिएको थियो । वन अधिकृतलाई ताल्चा लगाउने समयमा सेवाग्राहीले संचारकर्मीलाई समेत वोलाएका थिए । पछि जिल्ला वन अधिकृतसँग सञ्चारकर्मीले जानकारी लिन खोज्दा वन अधिकृत ठाकुरले कुनै प्रतिक्रिया दिन चाहेनन् ।
०६८ सालमै अनुमति प्रदान
२०६८ सालमा वन कार्यालयले व्यक्तिका कान्लाका खयर जातका काठहरु काट्नका लागि हिमाली कच्चा उद्योग हाँसपोसा, इटहरीलाई अनुमति दिएको थियो । काठ काट्ने अनुमति पाएपछि उद्योगका कर्मचारीहरुले जिल्लाको साविक मन्थली गाविस वडा नं १, २ र ३ त्यसैगरी साविक भटौली गाविस, भिरपानी, मझुवा, पकरवास, लगाएतका स्थानमा व्यक्तिहरुको कान्लाका काठ कटान गरेका थिए
।
कटान गरिएका काठहरु मध्ये ४ सय ९० क्युफिट गोलीका काठ कम्पनिलाई लैजान वन कार्यालयले इजाजत दिए पछि ती काठहरु २०६८ सालमा नै लगियो । तर पछि कार्यालयले विभिन्न अखडा बनाएर काठ लैजाने अनुमति रोकेको थियो । काठ लैजान नपाएपछि कम्पनीले महोत्तरीको बर्दिवास नगरपालिका वडा नं १ का रुपनारायण गौतमलाई बाँकी रहेको काठ लैजान अनुमति दिएका थिए । उद्योगले गौतमलाई अनुमति दिए पनि वन कार्यालयले भने हालसम्म काठ लैजाने अनुमति दिएको छैन ।
व्यवसायी गौतमले बाँकी रहेका काठ लैजान पटक–पटक वन कार्यालयमा धाउँदा पनि काठ लैजान अनुमति दिन अधिकृतले १० लाख रुपैयाँ मागेका थिए । सुरुमा ५ लाख रुपैयाँ गौतमसँग लिएका अधिकृत ठाकुरले क्षेत्रिय वन कार्यालय हेटौडामा कागजात मिलाउँनु पर्ने भन्दै गौतमको सवारीसाधन १४ पटक हेटौडा र रामेछाप ओहोरदोहोर गराएको गौतमले बताएका छन् ।
अधिकृतले रक्सी किन्न लगाथे !
वन विभाग र अख्तियारको टोली रामेछाप आउने र उनीहरुलाई खानपानको व्यवस्थापन गर्नुपर्ने भन्दै रक्सीसमेत किन्न लगाएको गौतमले बताए । उनका अनुसार अधिकृतले १२ हजार मुल्य पर्ने रक्सी व्यवसायीलाई किन्न लगाएर होटलको १ लाख २५ हजार विल समेत तिर्न लगाएका थिए ।
यसरी पटकपटक काठ लैजान पूर्जी दिने भन्दै वन अधिकृत ठाकुरले १५ लाख रुपैयाँ खर्च लिएका थिए । उक्त रकम लिएर पनि अधिकृत ठाकुरले विभिन्न वहाना वनाएर थप ५ लाख रुपैयाँ मागेपछि सेवाग्राही गौतमले जिल्ला वन कार्यालय रामेछापमा पुगेर वन अधिकृत ठाकुरलाई कार्यकक्षमा नै ढोका थुनेर वाहिरवाट ताल्चा लगाइदिएका हुन् ।
सेवाग्राहीले राजश्व तिरे तर, अनुमति पाएनन्
वन कार्यालयले सेवाग्राहीलाई वुझाउनु पर्ने राजश्व बुझाउन भनेपछि गौतमले १ लाख ७० हजार रुपैययाँ राजश्वसमेत तिरिसकेका छन् । राजश्व तिरिसके पनि वन कार्यालयले काठ लैजाने अनुमति भने हालसम्म दिएको छैन । कटान गरिएका काठ हाल साविक भिरपानी गाविसको सित्खा भन्ने स्थानमा १९ सय किवि काठ त्यत्तिकै रहेको छ ।
सेवाग्राहीसँग काठ लैजाने छुटपूर्जि दिने नाममा ५ लाख रुपैयाँ घुस वापतको रकम यसअघि नै लिइसकेको र पछि वन विभाग, अख्तियार र क्षेत्रिय वन कार्यालय हेटौडाका कर्मचारीलाई खानपिनमा १ लाख २५ हजार रुपैयाँ तिर्न लगाएका वन अधिकृत ठाकुरले पछि पुनः ५ लाँख रुपैयाँ घुस रकम सेवाग्राहीसँग मागेपछि सेवाग्राहीले वन अधिकृतलाई उनकै कार्यकक्षमा ताल्चा लगाइदिएका थिए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।