मेलम्चीको अन्तिम सुरुङको ‘ब्रेक थ्रु’ : मन्त्री मगरको दाबी–दसैँअघि पानी आउछ
नयाँ पत्रिका काठमाडौँ | ०२ घन्टा अगाडि
खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम सकिएको बताएकी छिन् । पत्रकारहरूसँगकाे कुराकानीमा सम्मेलन कार्यक्रममा मन्त्री मगरले हेडवर्क्सको मुख्य संरचना र सुरुङको फाइनल फिनिसिङ हुन मात्र बाँकी रहेको बताएकी हुन् । उनले दसैँ अगाडि नै काठमाडौंका बासिन्दाले मेलम्चीको पानी पिउन पाउने दाबी गरिन् ।
मेलम्ची खानेपानी आयोजनाको अन्तिम सुरुङको आज ब्रेक थ्रु भएको छ । २६ किलोमिटर लामो सुरुङमध्ये बाँकि रहेको ७.५ किलोमिटर लामो अन्तिम सुरुङको सिन्धु -ग्याल्टुङ खण्डमा ब्रेक थ्रु भएको हो । यो सँगै सुन्दरीजलबाट मेलम्चि हेडवर्क्ससम्म सुरुङ भित्रभित्रै पुग्न सकिने आयोजनाले जनाएको छ ।
आगामी बिहीबार प्रधानमन्त्री केपी ओलीसहित पूर्वप्रधानमन्त्री र मन्त्रीको उपस्थितिमा विशेष कार्यक्रम गरि औपचारिक रुपमा ‘ब्रेक-थ्रु’ गर्ने आयोजनाले जनाएको छ। मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकाभित्र ल्याउने गरी काम गरेको आयोजनाले जनाएको छ।
हालसम्म मेलम्ची आयोजनामा करिब २७ अर्ब ७६ करोड रुपैयाँ खर्चको अनुमान गरिएकोमा करिब २४ अर्ब २२ करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ । मेलम्ची खानेपानी आयोजना उप-आयोजना १ को हालसम्म कुल प्रगति ९३.२३ प्रतिशत र वित्तिय प्रगति ८५.१४ प्रतिशत भएको भएको जनाएको छ ।
आयोजनाबाट सिन्धुपाल्चोकका साविकका १४ वटा गाविसमा शिक्षा स्वास्थ्य ग्रामीण विद्युतिकरण आयआर्जन तथा सामाजिक विकासका कार्यक्रम समेत संचालन गर्दै आएको छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।