चुनाव चिन्हबारे छलफल चल्दैछ, विवाद हुँदैन : नेम्वाङ
लक्ष्मी काफ्ले / नयाँ पत्रिका झापा, २८ चैत | ०१ घन्टा अगाडि
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वाम एकताबारे दुबै पार्टीभित्र कुनै प्रकारको असन्तुष्टी नरहेको बताएका छन् । बुधबार बिर्तामोडमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले दुबै पार्टीभित्र कुनै प्रकारको खैलाबैला नरहेको स्पष्ट पारेका हुन् ।
‘कहीँ कतै असन्तुष्टी नै छैन,’ उनले भने, ‘आइजिपी नियुक्तिको कुरा नै हेरौँ न, हामी हार्दिकताका साथ काम गरेर देखाउँदैछौँ ।’ एकीकरणपछि पार्टीको निर्वाचन चिन्ह के रहने भन्ने विषयमा भने छलफल चलिरहेको उनले बताए । यसमा पनि विवाद नहुने उनको दाबी छ ।
‘दुबै पार्टीको आफ्नै इतिहास छ, अब हामी एक हुँदैछौँ, दुबै चिन्ह हाम्रा सम्पत्ति हुन्,’ नेता नेम्वाङले भने, ‘जनताको हित हुने गरि निर्णय गरिन्छ ।’
आफूहरुले विभिन्न चुनौतीहरु पार लगाउँदै संविधान कार्यान्वयनलाई महत्वपूर्ण चरणमा पुर्याएको स्मरण गर्दै नेम्वाङले भागबन्डाका आधारमा सरकार बनाउने र भत्काउने परिपाटी अन्त्य भएको जिकिर गरे । ‘हामीले गठबन्धन सरकार बनायौँ, प्रदेशमा पनि भने जस्तै सरकार बनाएका छौँ,’ नेम्वाङले भने, ‘सरकारका कामका परिणामहरु धमाधम देखिँदैछन् ।’
पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले स्वेत पत्र कसैका विरुद्धमा नरहेको बताए । मुलुकको स्थिति कस्तो छ भन्ने कुरा स्वेतपत्रमा देखाउन खोजिएको उनको कथन थियो । स्वेतपत्रलाई अन्यथा नलिन समेत उनले आग्रह गरे ।
प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दै नेता नेम्वाङले पुराना समस्या सबै सुल्झिएको दाबी गरे । भारत भ्रमणबाट नयाँ उचाइ प्राप्त भएको बताउँदै नेम्वाङले दुई छिमेकीसँग सुमधुर र सुदृढ सम्बन्ध कायम गर्दै मुलुकलाई सम्वृद्धिको दिशातर्फ लगिने उल्लेख गरे । चुनावका बेला एमालेले जलमार्गको कुरा गर्दा हावादारी भन्नेहरुलाई भारतसँगको सम्झौताले गतिलो जवाफ दिएको नेवाङले बताए । ‘अब हामी समुद्रसम्म पुग्न सक्ने भएका छौँ, यसबारे हाम्रा कुरा चाँडै जनतासम्म लैजान्छौँ,’ उनले भने ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।