एमाले–माओवादी एकीकरणका लागि गठित पार्टी एकता संयोजन समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ डाकिएको बैठक नेताहरूको व्यस्तताले स्थगित भएको हो ।
प्रधामन्त्री केपी ओली माथिल्लो तामाकोसी आयोजना निरीक्षणका लागि दोलखाबाट फर्किएर उद्योग वाणिज्य महासंघको कार्यक्रममा सहभागी भएका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आन्तरिक कार्यक्रममा व्यस्त रहे भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बुधबार मात्र चीन भ्रमणबाट फर्किएका छन् ।
नेताहरूको व्यस्तताकै कारण बैठक स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । ‘समय व्यवस्थापन हुनसक्यो भने बेलुकी बस्ने कि भन्ने थियो, तर सबै नेता व्यस्त हुँदा बैठक बस्न सकेन’ अधिकारीले भने ।
गत २२ चैतमा बसेको समितिको बैठकले आगामी ९ वैशाखमा पार्टी एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।