नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली समाज, भारतको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न उनी भारतको बैंगलोर तर्फ जाने भएका हुन् । संयोजक भट्टराईले पार्टीको लुम्बिनी विस्तारित बैठकका निर्णयहरुको बारेमा प्रशिक्षण दिनेछन् ।
एक सातासम्म भारतमा रहने भट्टराईले त्यसक्रममा भारतमा रहेका नेपालीहरुको समस्या र समाधानका विषयमा नेपाली समुदायसँग छलफल समेत गर्नेछन् । संयोजक भट्टराईले भारतका मुख्य–मुख्य शहर दिल्ली, मुम्बई, तमिलनाडू लगायतका स्थानमा रहेका नेपाली समुदायसँग परामर्श गर्नेछन्। सोही क्रममा उनले भारतका महत्वपूर्ण ऐतिहासिक स्थानहरुको समेत अवलोकन भ्रमण गर्नेछन् ।
संयोजक भट्टराईसँगै नयाँ शक्ति पार्टीको विदेश विभाग इन्चार्ज हिसिला यमी पनि भारत जाँदैछिन् । भट्टराईसँगै उनका ८८ वर्षीय पिता भोजप्रसाद भट्टराई पनि धार्मिकस्थल रामेश्वरम र द्वारकाधाम जानेछन् । संयोजक भट्टराई बैशाख ८ गते साँझ काठमाडौं फर्किनेछन् ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।