बैशाख १ गते उद्घाटन हुने कर्णाली रारा पर्यटन बर्षको कार्यक्रममा सहभागी हुने आन्तिरिक तथा बाह्य पर्यटकहरुलाई रारा आसपासका गाउँमा बासको ब्यवस्था गरिएको छ ।
रारामा आउने पर्यटकहरुलाई मुगुका गाँउहरुमा उत्पादन हुने स्थानीय अन्न बालीको परिकार खुवाउनुका साथै देश बिदेशमा उक्त स्थानीइ बालीबाट उत्पादित चिजहरुको प्रचार प्रसारको अपेक्षा राखेर रारामा आउने पर्यटकहरुलाई जिल्ला सम्वन्वय समिति मुगुले गाउँमा बासको ब्यवस्था गर्ने भएको हो ।
रारा वरिपरी रहेका गाउँ माझ घट्ट, झ्यारी, सल्लेरी, पिना, मुर्मा, टोप्ला, ताल्च, माथितुम, तलितुम, लामाचौर लगाएतका ठाउँमा घर वासको ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । उक्त गाउँहरुमा बर्षभरि आउने पर्यटकहरुलाई गाउँमै बास र स्थानीय बाली चिनो, काउनी, तितो फापर, आलु, रातो चामल, जौँ लगाएतका खानाका परिकार बनाएर खुवाउने गरी घर बास (होमस्टे) संचालन गर्ने गाउँलेले सहमति जनाएको र शुल्क पर्यटकको इच्छा अनुसार लिने समझदारी भएको उनले जनाए । प्रजिअ, जिल्ला समन्वय समिति प्रमुख, उप प्रमुख, नगरपालिका प्रमुख र उप प्रमुख, जिल्लास्थित पत्रकार महासंघको टोलीले १० वटै गाउँमा पर्यटकको बासको लागि पहल गरेका हुन् ।
गाउँले कै सक्रियतामा प्रत्येक गाउँमा यूवा समिति गठन गरिएको छ । समितिमा रहेका युवाले गाउँमा आउने पर्यटकलाई रारा घुमाउने, गाउँमा मदिरा नियन्त्रण लगायतका सामाजिक कार्य गर्ने छन् । बैशाख १ गते रारा तालबाट कर्णाली रारा पर्यटन बर्षको प्रधामन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पछि कर्णाली प्रदेशमा बर्षभरि बिभिन्न कार्यक्रम गरेर पर्यटन बर्ष मनाइने छ ।
बैशाख १ गतेका दिन संचार सेवा नियमित र इनटरनेट सेवा तीब्र गतिको बनाउन नेपाल टेलिकम र वल्डलिंकले प्राविधिकलाई तयारी अवस्थामा राखेका छन् । रारा तालमा फोहोर महिला ब्यवस्थापनका लागि नेपाल टेलिकमले प्लास्टिक डस्बिनको ब्यवस्था गरेको छ भने फोहोर उठाउन तथा ब्यवस्थापन गर्न सरसफाइ युवा स्वयंसेवक तयार पारेको नेपाल टेलिकमले जनाएको छ ।
उद्घाटन कार्यक्रमको तयारीका लागि बिभिन्न उपसमिति गठन कार्य भैसकेको र सम्पूर्ण काम पुरा भइसकेको जिल्ला समन्वय समितिका प्रमुख पूर्ण बहादुर रोकायाले जानकारी गराए । जिल्लामा रहेका ४ स्थानीय तहले स्थानीय लोक झाँक्री, देउडा, ढाल नाच, चम्फा नाच, झोडा र बालो नाच प्रदर्शन गर्ने उनले बताए ।
रारा ताल भित्र घुम्नको लागि डुङ्गाको राम्रो ब्यवस्था गरिएको छ । ताल बाहिर घुम्नको लागि घोडाको व्यवस्था मिलाइएको छ । रारा आउने पर्यटकलाई सहजताका लागि सडक डिभिजन कार्यालय जुम्लाले जुम्ला र मुगुको सिमाना बुलबुले देखि सल्लेरी र रारा बिमानस्थल सम्म सडक खुल्ला पारेको छ । हवाइ यात्राको लागि नेपालगंज र सुर्खेतबाट नियमित उडान गर्न सबै बिमान कम्पनीहरु सहमत भएका छन् ।
पर्यटन बर्षको उद्घाटन संगै देशबासीका नाममा प्रधानमन्त्रीले सम्वोधन गर्ने भएकाले मुगु जिल्लावासीले प्रधानमन्त्रीको सम्बोधनमा मुगु नाक्चे लाग्ना तिब्वत सडक, कर्णाली रााजमार्ग, छायानाथ रारा पर्यटकीय पदमार्ग, रारा सेफोक्सुन्डो पदमार्ग, रारा खप्तड पदमार्ग बारे विषेश सम्बोधन हुने आशा गरेका छन् ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।