प्रकाशकीय : समृद्धिमा सहयात्रा
नयाँ पत्रिका काठमाडौं, १ वैशाख | ३४ मिनेट अगाडि
सातै प्रदेशबाट प्रादेशिक संस्करण सुरु गर्ने देशको पहिलो दैनिक पत्रिका ‘नयाँ पत्रिका’ नयाँ वर्ष २०७५ को बिहानीसँगै बाह्रौँ वर्ष प्रवेश गरेको छ । छापा पत्रकारिताको एघार वर्ष लामो चुनौतीपूर्ण, तर सफल यात्राका लागि हामी आदरणीय पाठक, विज्ञापनदाता र वितरकहरूप्रति हृदयदेखि नै आभारी छौँ ।
कृष्णज्वाला देवकोटा
सामग्रीको सबैभन्दा धेरै विविधता र सबैभन्दा धेरै पाठकमैत्री प्रस्तुति अहिले ‘नयाँ पत्रिका’को परिचय हो । अरू कसैलाई होइन, आफैँलाई प्रतिस्पर्धी मानेर हामी अझ विविधतापूर्ण र अझ पाठकमैत्री बन्ने प्रयास गर्नेछौँ । हामी प्रादेशिक संस्करणहरूमा पनि थप संस्करणको तयारीमा छौँ । अहिले बुधबार प्रकाशन भइरहेको ‘गज्जब’ साप्ताहिक थप परिमार्जनसहित ‘नयाँ पत्रिका’को शनिबार अंकका रूपमा प्रकाशन हुनेछ । हामी अर्को वार्षिकोत्सवअघि नै टेलिभिजन सुरु गर्ने आन्तरिक तयारीमा पनि छौँ ।
हाम्रा लागि पत्रकारिता केवल दर्पण होइन, बरु दृश्यमाथि सार्थक हस्तक्षेपको प्रयास पनि हो । राजनीतिक संक्रमण करिब सकिएर आर्थिक समृद्धि देशको मूल ध्येय भएको छ । यो ध्येयलाई सघाउन ‘नयाँ पत्रिका’ले निजी क्षेत्रको गौरवमय छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसँग सहकार्यमा सातवटै प्रदेशमा ‘प्रादेशिक आर्थिक बहस’ सम्पन्न गरेको छ । प्रदेशहरूका आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकतामा केन्द्रित ती बहसका निष्कर्षलाई अझ व्यवस्थित र परिमार्जन गरेर सबै मुख्यमन्त्रीको समुपस्थितिमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने महासंघ र हाम्रो योजना छ । सकारात्मक चिन्तन राखेर समृद्धिको बहस अब ‘नयाँ पत्रिका’को उच्च प्राथमिकता हुनेछ।
केवल बेग्लै पत्रिका होइन, बरु बेग्लै पत्रकारिता ‘नयाँ पत्रिका’को सुरुदेखिकै संकल्प हो । सुरुमा ‘ट्याबलोइड’ हुँदा र पछि ‘ब्रोडसिट’ भएपछि पनि हामीले समाचारको प्रस्तुति मात्र होइन, सज्जा र शैलीमा समेत भिन्न प्रयोग गरिरहेका छौँ र गरिरहनेछौँ । पत्रकारिताबाहेक ‘नयाँ पत्रिका’को कुनै मिसन छैन र कसैमाथि हामीले मिडियाको नकारात्मक शक्तिको प्रयोग गर्नेछैनौँ । राजनीतिक नेतृत्वलाई हाम्रो खबरदारी पनि ध्वंसात्मक होइन, रचनात्मक नै हुनेछ ।
यस वर्ष पत्रिकामा निर्माण, आशा, विश्वास, प्रगति र समृद्धिको दैनिकी उतार्न पाइयोस्, यही कामना छ । हाम्रा सबै पाठक, विज्ञापनदाता, वितरक र शुभचिन्तकमा नयाँ वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
कृष्णज्वाला देवकोटा
अध्यक्ष तथा प्रबन्ध निर्देशक
नयाँ प्रकाशन प्रा. लि.
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।