प्रदेश ७ सरकारले सुरु गर्यो स्वच्छ र स्वस्थ अभियान
कर्ण चन्द/नयाँ पत्रिका धनगढी, २ वैशाख | ०१ मिनेट अगाडि
मुख्यमन्त्री झाडु बोकेर सडकमा, गाउँ–गाउँसम्म अभियान पुर्याइने
प्रदेश ७ सरकारले ‘स्वच्छ र स्वस्थ प्रदेश’ अभियान सुरु गरेको छ । शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टले सडक सफा गरेर अभियानको सुुरुवात गरेका छन् ।
प्रदेश सरकारले सर्वसाधारणलाई स्वास्थ्यप्रति सचेत गराउने र प्रदेशलाई स्वच्छ बनाउन सरसफाइ अभियान सञ्चालन गरेको जनाइएको छ । ‘प्रदेशका नागरिक स्वस्थ भएमा मात्र स्वस्थ प्रदेशको कल्पना गर्न सकिन्छ, नागरिकलाई स्वस्थ राख्न अभियान सुरु गरेका हौँ,’ मुख्यमन्त्री भट्टले भने ।
सामाजिक विकास मन्त्रालयको अगुवाइमा सुरु भएको अभियान वर्षभरि नै सञ्चालन गरिने जनाइएको छ । ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ नारा दिइएको यो अभियानमा सबैको सहभागिता गराइने मुख्यमन्त्री भट्टले बताए । ‘सहरदेखि गाउँ–टोलसम्म स्वच्छ र स्वस्थ प्रदेशको अभियान लैजान्छौँ,’ उनले भने । नागरिकलाई स्वास्थ्यप्रति सचेत गराएर रोग लाग्न नै नदिने अवस्था ल्याइने उनको भनाइ थियो ।
पहिलो दिन बजार सरसफाइ
स्वच्छ र स्वस्थ प्रदेश अभियानको पहिलो दिन धनगढी बजार सरसफाइ गरिएको छ । मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री दीर्घ सोडारीसहितको टोलीले बजार सफा गरेको हो ।
प्रदेश ७ का गाउँ–टोलसम्म सरसफाइ गरिने जनाइएको छ । यो अभियानमा स्थानीय सरकारलाई सहभागी गाउँ–गाउँसम्म ‘स्वच्छ र स्वस्थ प्रदेश’ अभियान पुर्याइने सामाजिक विकासमन्त्री सोडारीले बताए ।
विशेष कार्यक्रमको तयारी
यो अभियानका लागि सामाजिक विकास मन्त्रालयले विशेष कार्यक्रम ल्याउने जनाएको छ । वर्षभरि के कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको जनाएको छ । स्थानीय सरकार, नागरिक समाज, सामाजिक संघसंस्था, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणलाई यसमा सहभागी गराइनेछ । सरसफाइसँग शारीरिक अभ्यासका कार्यक्रमसमेत सञ्चालन गरिने जनाएको छ ।
मन्त्रालय प्रांगणमै योग
स्वच्छ र स्वस्थ प्रदेश अभियानको पहिलो दिन सामाजिक विकास मन्त्रालयको प्रांगणमै योग शिविर सञ्चालन गरिएको छ । शिविरमा मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री दीर्घ सोडारीसहित मन्त्री, सांसद तथा कर्मचारीहरू सहभागी थिए । योगलाई पनि अभियानको अंगकै रूपमा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।