न्यायिक निकायलाई प्रभावकारी बनाइनुपर्छ : जोशी
नयाँ पत्रिका काठमाडाैँ २ वैशाख | ०२ घन्टा अगाडि
सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपकराज जोशीले स्थानीय न्यायिक समितिलाई सक्रिय बनाउनुपर्ने बताएका छन् । न्यायिक निकायलाई सक्रिय बनाए जिल्ला अदालतदेखि सर्वोच्च अदालतमा आउने मुद्दाको चापमा कमी आउने उनको भनाइ छ ।
मेलमिलाप दिवसको अवसरमा शनिबार आयोजित सम्मान कार्यक्रममा जोशीले स्थानीय न्यायिक समितिको सक्रियता र सक्षमताका लागि उचित कानुनी व्यवस्था गर्न विधायिकाले ध्यान दिनुपर्नेमा जोड दिए । ‘मेलमिलाप गरेर टुंगिने विषय अदालतसम्म आइपुग्दा मुद्दाको चाप बढेको छ, अब आधाभन्दा बढी मुद्दा स्थानीय न्यायिक समितिलाई सक्रिय बनाए हल गरिनेछ,’ उनले भने ।
वैकल्पिक र प्रभावकारी न्यायप्रणालीका रूपमा रहेको मेलमिलापलाई स्थानीय तहमा विवाद निरूपणको अभिन्न अंगका रूपमा विकास गर्न खोजिएको उनले बताए । मेलमिलाप परिषद्का अध्यक्षसमेत रहेका जोशीले अहिले भएको मेलमिलाप ऐन–२०६८ र नियमावली–२०७० लाई समयसापेक्ष परिमार्जन गर्न थालेको जानकारी दिए ।
सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराईले मेलमिलाप न्यायको सहअस्तित्वमा रहेको भन्दै संख्यात्मक रूपमा बढ्न नसकेको बताए । धनकुटाका जिल्ला न्यायाधीश विनोदकुमार पोखरेल र चितवन जिल्ला अदालतका मेलमिलापकर्ता दिवाकर भट्टराईलाई कामु प्रधानन्यायाधीश जोशीले सम्मान गरेका थिए ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।