गुल्मीको कांग्रेस केही महत्वकांक्षी योजना बोकेर नयाँ वर्ष २०७५ को सुरुआतसँगै गाउँ पसेको छ । ५० दिनसम्म गरिव, दलित तथा पिछडिएको क्षेत्रका जनताको घरघरमा पुगेर बस्ने निर्णय गरेसँगै कांग्रेका नेताहरु गाउँगाउँ गएका हुन् । ‘कांग्रेसको आह्वान, गाउँमा जाउँ–गाउँमै रमाऔँ, ५० दिने महाअभियान’ भन्ने नाराका साथ गाउँ छिरेका हुन् । गुल्मी जिल्लाका १२ स्थानिय तहका ९३ वटै वडामा कांग्रेसका एक/एक जना प्रतिनिधि गरिव–दलितका घरमा बस्नेछन् ।
कांग्रेसले ७ हप्ते अभियानलाई दुई चरणमा विभाजन गरेको छ । पहिलो चरणमा ३ हप्तासम्म गाउँकै गरिवका घरमा बस्ने, दोस्रो चरणमा एक हप्ता समिक्षा र तेस्रो चरणमा दोस्रो चरणको समिक्षाका आधारमा कार्यक्रम निर्धारण गर्ने पार्टी सचिव बिष्णु सापकोटाले जानकारी दिइन् । जिल्ला कार्य समितिको २७ फागुनको बैठक तथा वडा सभापति र सचिवहरुको ६ चैतमा बसेको भेलाले ५० दिने महाअभियान गर्ने निर्णय गरेको थियो । महाअभियानमा कांग्रेसका विभिन्न जिल्लास्तरिय नेता तथा पार्टीका भातृ संगठन नेविसंघ, तरुण दल, महिला संघलगायतका नेताहरु पनि सहभागी हुनेछन् ।
५० दिने महाअभियान किन ?
कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले संगठन कमजोर भएको भन्दै संगठन सुदृढिकरणको लागि अभियान थालिएको बताए । कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई क्रियाशिल बनाई संठनलाई चुस्त–दुरुस्त बनाउन, लैङ्गिक, जातीय, वर्गिय तथा सामाजिक कुसंस्कार विरुद्ध जनजागरण अभिवृद्धि गर्न, ग्रामिण समस्याहरु अनुभुत तथा समाधानको लागि पहल गर्न, छायाँ सरकार गठन गरी सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न ५० दिने महाअभियानको सुरुअात गरिएको श्रेष्ठले बताए ।
त्यस्तै, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि सहकारीमार्फत कार्यक्रतालाई उत्साह जगाउने, धर्म, सँस्कृति र कलाको जगेर्ना गर्ने, आध्यात्मिक, पुरातात्विक तथा पर्यटकिय स्थलहरुको सम्वद्र्धनमा सहयोग गर्ने पनि अभियानको उदेश्य रहेको छ । हालसम्म पार्टीले गरेका अधिकाशं कामहरु नेतामुखी भएकोले अब पार्टीले जनतामुखी काम गर्न गाउँका गरिब, दलितको घर बस्ने निर्णय जिल्ला कार्य समितिले गरेको छ ।
एक जिल्ला सदस्य एक वडा
अभियानमा खटिएका एक जिल्ला सदस्य एक वडाको गरिबको घरमा बस्ने र उनीहरुसँगै खाने, बस्ने र काम गर्ने निर्णय गरेको पार्टी प्रवक्ता समेत रहेकी विष्णु सापकोटाले बताइन् । त्यसरी गाउँकै जनतासँग बस्दा र उनीहरुसँगै काम गर्दा जनताका समस्या र आवश्यकताको बारेमा जानकारी लिने उनले बताइन् । त्यो समयमा प्रतिनिधीले स्थानीय समस्या टिर्पोट गर्ने र स्थानीय सरकारसँग जनताका माग पुरा गर्न डेलिकेशन जानेसमेत कार्यक्रम रहेको उनले बताइन् । त्यसरी गरिव–दलितको घरमा बस्दा आफूहरुले कुनै राजनीतिक परिचय नदिने, स्थानीय पार्टीका कार्यक्रताले त्यसको सहजिकरण गर्ने र बास बस्ने घरमा कुनै पाहुना नभई परिवारको सदस्यको रुपमा बस्ने निर्णय गरेको छ ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।