नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस २२ अप्रिल (९ वैशाख) मा पार्टी एकता गर्ने एमाले–माओवादी केन्द्रको पूर्वघोषणामा अन्योल बढेको छ । पार्टी एकता संयोजन समितिको औपचारिक बैठकको सट्टा नेताहरूले पूर्वघोषित र अन्य आन्तरिक कार्यक्रमलाई प्राथमिकतामा राखेपछि अन्योल बढेको हो ।
‘एकता संयोजन समितिको बैठक बस्न नसकेकाले ९ वैशाखमा एकता होला कि नहोला आशंका गर्नुपर्ने स्थिति देखियो,’ एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘किन भइरहेको छैन ? दुई अध्यक्षलाई नै सोध्नुपर्छ, किनभने उहाँहरू नै सर्वोच्च कमान्डर हुनुहुन्छ, हामीलाई थाहा हुने कुरा भएन, यतिबेला त तयारीले ओहो भन्ने माहोल हुनुपथ्र्यो ।’
प्रधानमन्त्री ओली फर्किए, प्रचण्ड सुकुटे पुगे
कर्णालीको मुगु रारा तालबाट देशवासीलाई सम्बोधन गरेर प्रधानमन्त्री केपी ओली आइतबार अपरान्ह् काठमाडौं फर्किएका छन् । साँझ प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी अध्यक्षसँग प्रचण्डसँग भेटवार्ताको तयारी भए पनि उनी अचानक सिन्धुपाल्चोकको सुकुटेतर्फ हान्निए ।
प्रचण्ड सोमबार मात्र फर्किने गरी सुकुटे लागेपछि भेटवार्ता अचानक स्थगित भयो । सपरिवार सुकुटे हान्निएका प्रचण्ड एक रात रिसोर्टमा बिताएर काठमाडौं फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । गत २७ चैतको मन्त्रिपरिषद् बैठकअघि दुई नेताबीच आईजिपी नियुक्तिमा छलफल भएयता थप कुराकानी भएको छैन ।
९ वैशाखमा पार्टी एकता घोषणासभाका लागि तयारीमा लाग्ने समझदारीसँगै २७ चैतमा बस्ने भनिएको पार्टी एकता संयोजन समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन । २७ गते बिहानको बैठक बेलुकी डाक्ने तयारी भए पनि माओवादी अध्यक्ष प्रचण्डले अस्वस्थता रहेको बताएपछि स्थगित भएको थियो । भोलिपल्टका लागि तयारी भए पनि उनी चितवन लागेपछि बैठक बस्न सकेन ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।