कृषि र आन्तरिक व्यवस्थापन प्राथमिकतामा
प्रदेश २ सरकारले ५ वैशाखमा बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक वर्षको बाँकी तीन महिनाका लागि ल्याइने बजेटको तयारी अन्तिम चरणमा पुगेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
विजय यादव, योजनामन्त्री
यसका लागि आर्थिक मामिला मन्त्रालयले चैत दोस्रो साता सबै निकायसँग अनुमानित बजेट माग गर्न पत्राचार गरेको थियो । ३० चैतमै सबै निकायले बजेट मागसहितको कार्यक्रम पेस गरेका थिए ।
त्यसअनुसार ५ वैशाखमा प्रदेश सभामा बजेट प्रस्तुत गर्ने तयारी भइरहेको आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले बताए । ‘तत्काल प्रदेश सरकारको आफ्नो आम्दानी नभएकाले संघीय सरकारबाट प्राप्त भएकै रकमभित्र रहेर बजेट ल्याउँछौँ,’ यादवले भने । संघीय सरकारले सबै प्रदेश सरकारलाई चालू आर्थिक वर्षका लागि एक अर्ब दुई करोड रकम उपलब्ध गराएको छ ।
कृषि र आन्तरिक व्यवस्थापन प्राथमिकतामा
प्रदेश २ सरकारले ल्याउने पहिलो बजेटमा कृषि र आन्तरिक व्यवस्थापनलाई नै प्राथमिकतामा राखिएको छ । ‘बजेटमा कृषि, पर्यटन र आन्तरिक व्यवस्थापनमा बढी जोड दिइनेछ,’ मन्त्री यादवले भने ।
विकास निर्माणका लागि समय र रकमको अभाव भएकाले आगामी आर्थिक वर्षमा काम गर्न सजिलो हुने गरी बजेट ल्याइनेछ । सरकारको नीति तथा कार्यक्रम र सयदिने कार्यक्रममा पनि कृषि र पर्यटनलाई नै जोड दिइएको छ । कृषि उत्पादन बढाउन, सिँचाइ, बिउबिजन, मलखाद, कृषि केन्द्रित उद्योगलाई पनि समेटिने जनाएको छ ।
संसद् सचिवालयले माग्यो २३ करोड
कुन मन्त्रालयलाई कति बजेट दिने विषयमा टुंगो लागेको छैन । प्रदेश सभा सचिवालय, महान्यायाधिवक्ताको कार्यालय र मन्त्रालय गरी नौवटा निकायले बजेटको माग गरिसकेका छन् । आर्थिक मामिला मन्त्रालय स्रोतका अनुसार बजेटको करिब एकतिहाइ रकम सांसद तथा मन्त्रीको पारिश्रमिक, सेवासुविधा र व्यवस्थापनमा खर्च हुनेछ । त्यस्तै, एकतिहाइ बजेट विकासका काममा खर्च हुनेछ ।
प्रदेश सभा सचिवालयले सबैभन्दा बढी बजेट माग गरेको छ । प्रदेश सभा सदस्यको तलब, भत्ता, सभामुख, उपसभामुख, विपक्षी दलका नेता, कर्मचारीको सेवा सुविधा, आवास सुविधालगायतका लागि २३ करोड माग गरिएको छ ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार मन्त्रालयले १० देखि १५ करोड, उद्योग पर्यटन, वन तथा वातवारण मन्त्रालयले ६ करोड, सामाजिक विकास मन्त्रालयले पाँच करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सात करोड माग गरेका छन् । सामाजिक विकास मन्त्रालयका सचिव किरण रूपाखेतीले विकास निर्माणभन्दा पनि आगामी वर्षका लागि सम्भाव्यता अध्ययनमा बढी बजेट माग गरेको बताए ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान
प्रदेश २ सरकारले ल्याउने पहिलो बजेटमा नयाँ कार्यक्रम पनि समावेश गरिने भएको छ । जसमा ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान प्रमुख छ । प्रदेश २ मा देखिएको भ्रुणहत्या, दाइजोको नाममा हुने हिंसा रोक्नेलगायतका विषय यसमा समेटिने जनाएको छ । त्यस्तै, छोरीलाई स्कुल पढाउन प्रेरित गर्ने कार्यक्रम पनि हुनेछ ।
‘मुख्यमन्त्री स्वच्छता अभियान’ पनि बजेटमा समेटिनेछ । प्रदेशका मन्त्रालय, मन्त्रीआवास, सवारीसाधनलगायतका भौतिक संरचनाको मर्मतसम्भार, निर्माणलगायतका शीर्षकमा बजेट विनियोजन गरिनेछ । त्यस्तै, नयाँ योजनाको सम्भाव्यता अध्ययनका योजना पनि समेटिने जनाएको छ।
यो समाचार नयाँ पत्रीकाबाट लिईएको हो ।