काठमाडौं । आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी) को अवसरमा नेपाल टेलिकमले जीएसएम तथा सीडीएमएका प्रिपेड, पोष्टपेड मोबाइलमा ‘ह्याप्पी सोसल मिडिया प्याक’ उपलब्ध गराउने भएको छ । ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन सकिने छ ।
उक्त अफर बैशाख ३ गतेदेखि वैशाख १८ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । ह्याप्पी सोसल मिडिया प्याकअन्तर्गत २१ रुपियाँमा २ सय ५० एमबी डाटा प्राप्त हुनेछ । सो प्याक विहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म प्रयोग गर्न सकिने छ । सो प्याक ७ दिन अवधिसम्म प्रयोग गर्न सकिने छ । ह्याप्पी सोसल मिडिया प्याक चलाउँदा वेब ब्राउजर नभई सम्बन्धित सोसल मिडियाको एप्स नै प्रयोग गर्नु आवश्यक हुन्छ ।
त्यस्तै कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि विद्यार्थी अफर उपलब्ध गराउने भएको छ । सो अफर पनि वैशाख ३ गतेदेखि उपलब्ध हुनेछ । विद्यार्थीलाई ५० रुपियाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
सो रकममध्ये १० रुपियाँमार्फत् कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न जस्ता सबै सुविधा उपयोग गर्न सकिने छ । बाँकी ४० रुपियाँमार्फत् ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ ।
यी सवै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नुपर्नेछ । विद्यार्थीहरुलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधासमेत उपलब्ध गराइने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।
त्यसैगरी सो अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपियाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराइने छ । ५० रुपियाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । अफरअन्तर्गत उपलब्ध भ्वाइस कल र एसएमएस नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरका लागि मात्र उपलब्ध हुनेछ ।
आगामी ३ महिनासम्म विद्यार्थी अफर उपलब्ध गराइने छ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ । एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुलाई विद्यार्थी अफरको सिम उपलब्ध गराइने छ ।
एसईई परीक्षा दिएका विद्यार्थीले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।
त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ ।
टेलिकमले हाल नयाँ वर्ष २०७५ को अवसरमा उपभोक्ताको थप सुविधाका लागि ह्याप्पी विकेन्ड प्याक, अनलिमिटेड जीएसएम, सीडीएमए नाइट डाटा प्याक, एडीएसएल भोलुम बेस्ड प्याकेज र एडीएसएल अनलिमिटेड प्याकेजसमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।