हेटौंडा । सरकारी निर्णयअनुसार प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन विद्यार्थीको अभिभावक बन्दै उनीहरुलाई बुधबार सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ ।
मकवानपुरको मनहरी–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीका दुई बालबालिका तथा महेन्द्रकिरण माविका १ बालकलाई भर्ना गर्दै मुख्यमन्त्री पौडेल भर्ना अभियानमा सहभागी हुनुभएको हो ।
विद्यालय जान उमेर पुगेका बालबालिका नछुटुन् भन्ने उद्धेश्यले सरकारले सुरु गरेको अभियानअन्तर्गत् मुख्यमन्त्री पौडेलले सुनाचुरीमा मनहरी–६, जोगीटारका ६ वर्षीय सञ्जित ब्लोन तथा ६ वर्षीया जेशिका प्रजालाई राष्ट्रिय माविको कक्षा–१ मा भर्ना गर्नुभएको छ । मुख्यमन्त्री पौडेलले मनहरीकै महेन्द्रकिरण माविमा सुमन चेपाङको पनि आफू अभिभावक बनेर भर्ना गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले उनीहरुका लागि विद्यालय पोशाक, जुत्ता, स्कुल ब्याग, किताब तथा स्टेशनरी सामग्रीको समेत ब्यवस्था गरिदिनुभएको छ । विद्यार्थी भर्नापछि मुख्यमन्त्री पौडेलले बालबालिकाले पढ्न पाउने अधिकारलाई सरकारले गम्भीरढंगबाट लिएको र प्रदेश सरकारले अभियानलाई महत्वपूर्णरुपमा अगाडि बढाएको बताउनुभयो ।
प्रदेशसभा सांसद् ओम घलानले सुनिल चेपाङलाई आफू अभिभावक बनेर भर्ना गर्दा उक्त माविमा सांसद् विरोध खतिवडाले अभिभावक बनेर विश्वास थोकर, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले आर्यन बिक, गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले खुशी घिमिरे, वडा सदस्य पुष्कर सुवेदी तथा रामप्रसाद ढकालले क्रमशः गंगा प्रजा र विक्रम थिङको अभिभावक बनेर विद्यार्थी भर्ना गर्नुभएको छ ।
प्रतिनिधिसभा सांसद् कृष्णप्रसाद दाहालले हेटौंडा–५ मा रहेको बालज्योति माविमा आफू अभिभावक बनेर विद्यार्थी भर्ना गराउनुभएको छ । दाहालले बालज्योतिमा ययुव राईलाई आफू अभिभावक बनेर भर्ना गर्नुभएको हो । दाहालले उनका लागि एक वर्षको स्टेशनरीसहित पोशाक उपलब्ध गराउनुभएको छ ।
यसअघि विद्यालय भर्ना अभियानअन्तर्गत् हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले आफ्नी नातिनी र बकैया गाउँपालिकाका प्रमुख दामोदर खनालले छोरालाई सामुदायिक विद्यालयमा भर्ना गराउनुभएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।