विनोद सिंह विष्ट, बैतडी । बैतडीमा आज पुस्तक बितरण दिवस मनाईएको छ । जिल्ला शिक्षा कार्यालयको आयोजनामा बैतडीको देहिमाण्डौंमा रहेको निंगलाशैनी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी पुस्तक वितरण दिवस मनाईएको हो ।
पुस्तक वितरण दिवसको अवसरमा उक्त विद्यालयमा अध्ययन बालबालिकालाई निमित्त जिल्ला शिक्षा अधिकारी शंकरदत्त भट्टले पुस्तक वितरण गर्नुका नयाँ भर्ना आउने विद्यार्थीलाई स्वागत गरेका थिए । उक्त कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी शंकरदत्त भट्ट , जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा , दशरथचन्द नगरपालिका वडा नं २ का अध्यक्ष रन बहादुर बोहरा लगायतको उपस्थिती रहेको थियो ।
यसका साथै जिल्लामा रहेका ५४१ ओटा सामुदायिक विद्यालय र २३ ओटा संस्थागत विद्यालयहरुमा पनि पुस्तक वितरण कार्य गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी भट्टले जानकारी दिनुभयो । यसका साथै जिल्ला भरिनै आईतवारदेखि सुरु भएको विद्यार्थी भर्ना अभियान पनि जारी रहेको छ । प्रत्येक विद्यालयलाई आफ्ना सेवा क्षेत्रका विद्यार्थीहरुलाई विद्यालयमा स्वागत गर्न निर्देशन गरिए बमोजिम अभियान जारी रहेको उहाँले बताउनुभयो ।
वैशाख १४ गतेसम्म विद्यालयमा भर्ना अभियान स्वागत सहित सञ्चालन हुनेछ भने वैशाख १५ गतेदेखि ३० गतेसम्म कोही विद्यालयमा भर्ना छुट भएमा उनीहरुका लागि घरदैलो अभियान सञ्चालन हुनेछ । घरदैलो मार्फत विद्यालय बाहिर रहेका बालबालिकाहरुका अभिभावकहरुलाई शिक्षाको महत्वबारे अभिभावकलाई बुझाएर आफ्नो बालबालिकालाई विद्यालयमा पुर्याउनका लागि पहल गरिने भएको छ । मागअनुसारकै पाठ्यपुस्तक भित्रिएकोले पाठ्यपुस्तकको यसबर्ष बैतडीमा अभाव नहुने जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।