कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन् ।
कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताउनुभयो । कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ ।
कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जनकारी गराउँदै आएका छन् । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ । कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ, जेलर भट्टले भन्नुभयो, “समस्या समाधान भएको छैन ।”
कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन् । ती दुवै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनगढीले भवन निर्माण गर्ने जानकारी आएको जेलर भट्टले बताउनुभयो । “कारागारमा भवन बन्ने कुरा आएको छ, त्यो भवन बनेपछि मात्रै समस्या समाधान हुन्छ” उहाँले भन्नुभयो ।
कैदीबन्दीले संघर्ष समिति बनाएर कारागार सुधारका लागि आन्दोलनसमेत गर्दै आएका छन् । कारागारका जेलर भट्टले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, पानी र शौचालयको समस्या भएको बताउनुभयो । “विद्युत्को हकमा पुरानो छ, त्यो जुन बेला पनि सर्ट हुनसक्ने डर छ”, जेलर भट्टले भन्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।