कृष्णउदास खनाल, वीरगन्ज ।
दाइजोका लागि केटी पक्षलाई यातना दिएको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो ।वीरगन्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व नै पासो लगार्ई आत्महत्या गरेपछि सामाजिक सुधार ऐन २०३३ अनुसारको कसुर भएकाले साहलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले जानकारी दिए ।
पक्राउ परेका साहलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले बेहुलापक्षले दाइजोका लागि दिएको दबाबकै कारण रविताले विवाह हुने आठ दिनअघिनै आत्महत्या गरेको अनुसन्धानबाट खुलेपछि आवश्यक कारबाहीका लागि केटाका पिता साहलाई नियन्त्रणमा लिइएको बताए । तीन लाख नगद, साइन मोटरसाइकल, सुनको सिक्री, औँठी, कपडा र घरायसी सामान दाइजोमा दिने सहमतिपछि बच्चु साहका छोरा शिवदयाल कुमार र रविताबीच यही वैशाख १४ गते विवाह गर्ने सहमति भएको थियो ।
दाइजोबारे सहमति भएको केही दिनपछि नै केटा पक्षले थप ८० हजार नगद माग गरेपछि दुवै पक्षमा तनाव उत्पन्न भएको र सोको जानकारी रवितालाई भएपछि घरको कोठामा वैशाख ६ गते पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले जानकारी दिए । उनले केटा पक्षले माग गरेको थप दाइजो रकमबारे रविताले शिवदयाललाई फोन गरी कुरा गर्दा माग गरिएको थप रकम नदिए विवाह नगर्ने बताएपछि रविताले आत्महत्या गरेको अनुसन्धानबाट देखिएको बताए ।
दाइजोकै कारण विवाहपूर्व नै रविताले आत्महत्या गर्नु परेको लिखित उजुरी उनका परिवार पक्षले दिन नमानेपछि आत्महत्या गरिने कारकलाई वर्तमान कानूनले कारबाही गर्ने प्रस्ट व्यवस्था नभएका कारण जिल्ला प्रहरी कार्यालय, पर्साको प्रतिवेदनका आधारमा बच्चु साहलाई सामाजिक सुधार ऐनअनुसार मुद्दा चलाउने तयारी गरिएको उपरीक्षक रेग्मीले बताए ।
घटनामा संलग्न रहेका शिवदयाल साह भने फरार रहेको प्रहरीले जनाएको छ । फरार शिवदयालको खोजी भइरहेको प्रहरीले बताएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।