दाङ्ग समाचारदाता
दाङ २२ असार
तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । गएराती सम्पन्न मतगणना अनुसार मेयर र उपमेयर दुबै पदमा एमाले बिजयी बनेको हो । एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै बिजयी भए भने उपमेयरमा पनि एमालेकी मायाँ आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी भईन् । मेयरका प्रत्यासी कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरे । यसैगरि उपमेयरका प्रत्यारस् कांग्रेसकी देबकी नेपालीले २० हजार १ सय ८५ मत प्राप्त गरिन् भने नेकपा माओवादी केन्द्रका सीता ओलीले ९ हजार ५१ मत प्राप्त गरिन् । यसअघि एमाले अन्य दुई महत्वपूर्ण तह घोराही उपमहानगरपालिका र लमही नगरपालिकामा पनि विजयी भैसकेको छ ।
तुलसीपुर उपमहानगरपालिकाको मत परिणाम आएसंगै दाङका १० वटै स्थानीय तहको मतगणना सकिएको छ । जसअनुसार दाङमा एमाले पहिलो दल बनेको छ । १० मध्य दुई उपमहाननगर र एक नगरपालिका सहित ३ गाउँपालिका गरि ६ स्थानीय तहमा बिजयी भएको छ । एमालेले गढवा, दंगीशरण र बबई गाउँपालिकामा जीत निकालेको छ । यसैगरि कांग्रेस तीन गाउँपालिकामा मात्रै सिमित भएको छ । राप्ती गाउँपालिका,राजपुर र शान्तिनगर गाउँपालिकामा मात्रै कांग्रेस विजयी भयो भने नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकामा मात्रै बिजयी भएको छ ।