कलैया । तस्करी नियन्त्रण गर्न खोज्दा र तस्करी गरिएका सामानहरू पक्राउ गर्दा स्याबासी दिई अझ त्यस्ता कार्य गर्न हौसला र प्रेरणा दिनुपर्नेमा उल्टो तस्करीका सामान पक्राउ गर्दा गाली खानुपर्दा तल्लो तहका प्रहरीहरूलाई कस्तो लाग्दो हो ?
अनि तस्करीका सामान पक्राउ गर्दा स्याबासीको साटो गाली गर्दै ब्रिफिङ गर्ने कार्यालय प्रमुख कस्ता हुन् ? अहिले यस्तै चर्चा–परिचर्चा सिमरा इप्रकामा मात्र होइन वरपरसमेत चल्न थालेको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले तस्करीका सामान पक्राउ गर्ने प्रहरीहरूलाई ब्रिफिङका नाममा गालीगलौजमात्रै होइन त्यस्ता सामान पक्राउ नगर्न निर्देशन दिन थालेपछि यस्तो चर्चा–परिचर्चा भएको हो । वीरगञ्ज र बाराका सीमावर्ती क्षेत्रबाट हुने गरेको तस्करी सिमरा हुँदै हेटौँडा जाने गर्दछ ।
सीमा क्षेत्रमा झोले पोकेका रूपमा संगठित ठूलो समूहले तस्करी गरी एकत्रित गरेका सामानहरू हेटौँडा हुँदै विभिन्न ठाउँहरूमा पुग्ने गर्दछ । त्यसै क्रममा तस्करीको सामान चेकजाँचका क्रममा इप्रका सिमराबाट खटिएका प्रहरीहरूले पक्राउ गर्ने गर्दछन् । तर, सामान पक्राउ गरेको भन्दै दिनमा तीन पटकसम्म कार्यालय प्रमुख निरीक्षक भुवन भट्टले ब्रिफिङ गरी माल किन समाएको भन्दै गालीगलौज गरेपछि तल्लो तहका प्रहरीहरू आफैँ चकित परेका छन् । आइजिपी बनेका सर्वेन्द्र खनाल तस्करी नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा रहेको निर्देशन र भाषण गरिरहन्छन् तर मातहतका कार्यालय प्रमुखहरू भने तस्करीका सामान पक्राउ गर्ने प्रहरीहरूलाई ब्रिफिङ गर्दै गालीगलौज गर्दछन् यो कस्तो विडम्बना ?
एक असईले बताए– निरीक्षक भट्टले पैसा असुल्नका लागि दुई जना घुमुवाहरू परिचालन गरेका छन् । ती घुमुवाहरू हुन्– सिपाही सहदेव साह र लुंगेली धिताल । यी घुमुवाहरूले तस्करहरूबाट रकम असुली निरीक्षक भट्टलाई बुझाउने गर्दछन् र गस्ती एवम् चेकजाँचमा खटिएका प्रहरीहरूले तस्करीका सामान पक्राउ गरेपछि तस्करहरूले रकम दिएपछि पनि पक्राउ गरेको भन्दै घुमुवाहरूलाई गुनासो पोखेपछि कार्यालय प्रमुख भट्टले पक्राउ गर्ने प्रहरीहरूलाई गाली गरेको दावी ती असईको छ ।
त्यतिमात्र होइन घुमुवाहरूले लोकल मदिरा उत्पादन गर्ने र जुवा खेलाउनेहरूबाट समेत खुलेआम रकम असुली गरिरहेका छन् । भजनी गाउँमा जुवा खेलाइरहेको अवस्थामा एक दम्पत्तिको हत्या भएको प्रकरण अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । उक्त घटना घटेको पनि लामो समय बितिसकेको छ । अर्का एक सईले भने– माथि तरकारी, भुजालगायतका सामानहरू देखाएर तल कपडा, हार्डवेयरलगायतका तस्करीका सामानहरू भित्रिएको गाडी नम्बर सहित सूचना आउने गर्दछ, त्यो कुरा कार्यालय प्रमुख भट्टलाई जानकारी गराउँदा पक्राउको साटो उल्टो केही नगर्न दबाब दिने गर्दछन् । यसबाट निरीक्षक भट्टले तस्करहरूबाट लाइन खाइरहेको कुरा प्रष्ट हुने ती सईको भनाइ छ ।
भट्टका घुमुवाहरूले खैनीको तस्करी गर्ने राजकिशोर साहदेखि कपडाको तस्करी गर्ने नेमसर मुसलमान, राजकुमार, भैँसीको व्यापार गर्ने थारु, खान साहेब, मरिच र अलैँचीको तस्करी गर्ने महेश गडु, मुसुरो दालको तस्करी गर्ने उमेश साह, गिटी बालुवा भारततर्फ पठाउने काममा सक्रिय मदन यादवसमेतबाट सिमराका घुमुवाहरूदेखि जिल्लाका घुमुवा र मुसहर्वा प्रहरी चौकीका सई वीरेन्द्र पाण्डेसम्मले मासिक रकम लिने गरेको प्रहरीस्रोतबाट नै खुलेको छ । यसरी तस्करी गराएवापत रकम लिने घुमुवादेखि कार्यालय प्रमुखसम्मलाई आइजिपी खनालले के कस्तो कारवाहीको नीति अवलम्बन गर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।