धनुषा । २ नम्बर प्रदेशको प्रहरी अहिले प्रमुखविहीन छ । एआइजी विजयलाल कायस्थसहित एसएसपी सुभास चौधरी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा परेपछि प्रहरी संगठनले २ नम्बर प्रदेशको नेतृत्व दिन सकेको छैन ।
सरकारले प्रदेशमा एआइजी नराख्ने निर्णय यसअघि नै गरिसकेको छ तथापि पनि डिआइजीसम्म पठाउने काम भएको छैन । प्रदेश कार्यालय अहिले डिएसपीको नेतृत्वमा चलिरहेको छ र डिएसपी पनि जुनियर रहेका छन् । उनी हुन्– शिशु शर्मा ।
उनलाई एआइजी विजयलाल कायस्थले आफ्नो विश्वासपात्रका रूपमा सरुवा गरी ल्याएका थिए र उनलाई नै प्रयोग गरी धनुषाबाट तस्करीसमेत चलाएका थिए । २ नम्बर प्रदेशमा खटिएपछि डिएसपी शिशुले राम्रो कमाउने अवसर प्राप्त गरेका छन् संघीय प्रहरी इकाइ कार्यालयका घुमुवा सिपाही वैजु यादवमार्फत् । वैजु यादवको घुमुवा टोलीको कमाण्डर असई रामरेख यादव हुन् ।
रामरेख यादव लामो समयदेखि धनुषामा बसी तस्करदेखि व्यापारीसम्मबाट व्यापकमात्रामा रकम असुलेको जनगुनासो आएपछि उनलाई प्रहरी महानिरीक्षकको सचिवालयले छानविनका लागि तानी लामो समयसम्म १ नम्बर गणमा राखेको थियो । महानिरीक्षकको सचिवालयमा रहेको उजुरी छानविन शाखामा उनका दर्जनौँ उजुरीहरू परेपछि छानविनका लागि तानिएका उनी गणमा रहेका थिए ।
पछि निज असई यादवलाई सम्बन्धित प्रदेशमा पठाई प्रदेश प्रहरीले नै कारवाही गर्ने भनी उनलाई प्रदेश कार्यालयमा पठाइयो तर, अवकाश भएका एआइजी विजयलाल कायस्थले कारवाही गर्नु त परैजाओस् उल्टो सिभिलमा घुमुवाका रूपमा परिचालन गरे र उनी अहिले पनि घुमुवाका रूपमा कार्यरत छन् । सपाही वैजु यादव भने लामो समयदेखि संघीय इकाइ प्रहरी कार्यालयमा घुमुवा प्रहरीका रूपमा कार्यरत छन् ।
यिनै वैजु यादव र रामरेख यादवलाई प्रयोग गरेर डिएसपी शिशु शर्माले व्यापारीदेखि तस्करहरूबाट रकम असुल्न लगाएको आरोपसमेत प्रहरी मुख्यालयसम्म पुगेको छ । शिशु शर्मालाई बुझाउनुपर्छ भन्दै यी दुवै यादवहरूले धनुषाका मुख्य व्यापारीदेखि तस्करहरूसँग खुलेआम रकम लिने गरेका छन् । सुरेश साह, सोहन जलान, अमिन, गफार, रहमान, छोटु, ऐशान, चाची भन्ने राजीव महासेठ र गणेश साहले धनुषाका विभिन्न नाकाहरूबाट ठूलो मात्रामा संगठित तस्करी गर्ने गर्दछन् ।
यिनैबाट घुमुवा यादवहरूले आफू र डिएसपी शिशु शर्माका नाममा खुलेआम रकम असुल गरिरहेका छन् । संघीय इकाइका एक सईले भने– ‘यहीँ आएपछि शिशु सरले ललितपुरको बालकुमारी नजिक ३ आना १ पैसा जग्गा खरिदमात्रै गर्नुभएको छैन कि अहिले घर बनाउने कार्यसमेत गरिरहनुभएको छ । घर बनाउनका लागि सिमेन्ट, इँटादेखि काठसम्म यतैबाट लैजानुभएको छ ।
यो सबै मिलाउने काम सिपाही वैजु यादवले गर्ने गर्दछन् ।’ यसअघि एआइजी विजयलाल कायस्थले पैसा उठाउने घुमुवाका रूपमा सई वेचन यादवलाई प्रयोग गरेका थिए । आफू अवकाश हुने भएपछि कायस्थले निज वेचनलाई धनुषाको प्रहरी चौकी प्रोताहा (कमला खोलावारि हाइवे)को प्रमुखका रूपमा खटाएका थिए । उक्त चौकी पनि आम्दानीका हिसाबले राम्रो मानिन्छ । धनुषा र सिराहाको बोर्डरका रूपमा रहेको सो चौकीमा टेण्डर हालेर नै खटाउने विगतको परम्परा थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।