काठमाडौं । नेपाल र भारतमा बसोबास गर्ने लिम्बु धर्मावलम्बीहरुको दुईदिने धर्मसभा धरानमा सम्पन्न भएको छ ।
मन्धुम युमा साम्यो धर्मसभाले अबदेखि ‘किरात धर्म’ नमान्ने र नलेख्ने घोषणा गरेको छ । मुन्धुम सभाले गरेको यस्तो घोषणाबाट पूर्वी नेपाल र भारतका विभिन्न ठाउँमा बसोबास गरिरहेका लिम्बुजातिमा तीव्र बहस र तरंग सिर्जना गरेको छ । हंगकङ र बेलायतमा बस्ने लिम्बुहरु पनि धरान घोषणापत्रबाट निर्णयबाट तरंगित भएका छन् ।
मुन्धुमका ज्ञाता बैरागी काइँलाका अनुसार धरानमा आयोजित यो धर्मसभा करिब एक सय वर्षपछि दोस्रोपल्ट गरिएको हो । विसंं १९८८ मा तेह्रथुममा यस्तो चुम्लुङ ९सभा० आयोजना भएको थियो । सो सभाले लिम्बु समुदायको बिहे आदिमा फजुल खर्च घटाउने लगायतका निर्णयहरु गरेको थियो ।
लिम्बूहरुको कान फुक्नुपर्दैनः बैरागी काइँला
कार्यक्रममा करिब ४० मिनेट मन्तव्य दिएका मुन्धुमविद बैरागी काइँलाले लिम्बुजातिको धर्म र संस्कृति संकटमा पर्दै गएको बताए । पञ्चायत कालमा हिन्दुहरुको बालवाला भएकाले आफूहरुले जनगणनामा ‘किरात धर्म’ लेखाएको उनले बताए ।
‘त्यसबेला किरातै लेखाउनुपर्छ भनेर हिँड्ने एकजना म पनि हुँ,’ बैरागी काइँलाले कार्यक्रममा भने, ‘जब हाम्रो जातीय अस्थित्व संकटमा पर्यो, एक्लै लड्न नसक्ने अवस्थामा पुगियो । त्यसले गर्दा हामीले मोर्चाबन्दी गर्नुपर्यो ।’
तर, अब लिम्बुजातिले किरात धर्मको साटो आफ्नो परम्परादेखि मानी आएको युमा धर्म मान्नुपर्ने र लिम्बुजातिको अस्थित्व जोगाउनुपर्ने उनले सुझाव दिए ।
लिम्बु समुदायका अभिभावक, साहित्यकार एवं संस्कृतिविद काइँलाले अगाडि भने, ‘लिम्बुले मानेको किरातभित्र युमा नै हो । राईले के लेख्छन्, उनीहरु जानुन् । सुनारले जे लेख्छन्, लेखुन्, याख्खाले जे लेख्छन् लेखुन् । एउटा ‘कमन फयाक्टर’ मात्रै किरात थियो ।’
लिम्बुहरुमाझ चर्चित रहेको सत्यहाङमा पन्थलाई बैरागी काइँलाले धर्म परिवर्तनको संज्ञा दिए ।
उनले भने, ‘लिम्बुले परम्परादेखि पालना गर्दै आएको धर्म युमा धर्म नै हो । आस्था परिवर्तन भनेको धर्म परिवर्तन हो । सत्यहाङमा भनेको धर्म परिवर्तन नै हो । कान फुकेर मात्रै लिम्बु हुने हामी ? हामीले त जन्मजात पाएको हो ।’
तर, आफूहरुले सत्यहाङमा पन्थीहरुलाई हाम्रो झण्डा बोक् भनेर कर गर्न नहुने उनले बताए । संसारमा एउटै धर्मका दुई समुदायवीच द्वन्द्व हुने गरेको उदाहरण दिँदै काइँलाले लिम्बुहरुले त्यसो गर्न नहुने बताए ।
किरात धर्मको विकल्पमा युमा धर्म
याक्थुम्वा लिम्बुहरुले अब किरात धर्मको साटो ‘युमा धर्म’ मान्ने घोषणा गरेका छन् । लिम्बुहरुको धर्मग्रन्थ्र मुन्धुमअनुसार युमा भनेकी सृष्टिकालकी देवी हुन् । लिम्बुहरु प्रकृतिपूजक हुन् ।
धरानमा मंगलबार सम्पन्न धर्मसम्बन्धी दुई दिने गोष्ठी एवं धर्मसभाले एक बुँदे घोषणापत्र जारी गरेको छ । सो घोषणापत्रमा युमा धर्म अवलम्वन गर्ने बताउँदै भनिएको छ, ‘याक्थुम्वा (लिम्बु–सुब्बा) जातिको मौलिक धर्म, संस्कृतिको संरक्षण, सम्वर्धनकका लागि याक्थुम्बा जातिले अनुसरण गरी ल्याएको परम्परागत धर्म संस्कृति र संस्कार नै युमा धर्म हो भनी घोषणा गर्दछ ।’
नेपालका साथै भारतको सिक्किम, दार्जीलिङ, आसाम, डुबर्स, मिरिक, कालेबुङ, सिलिगुडीलगायतका स्थानबाट लिम्बु प्रतिनिधिहरु सहभागी भएको धर्मसम्बन्धी गोष्ठीमा प्राज्ञ बैरागी काइँला प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । सभामा कलेजका प्रोफेसरका साथै लिम्बु समुदायका फेदाङबा, येवाहरुको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा नेपालबाट चैतन्य सुब्बा, अर्जुनबाबु माबुहाङ लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए भने भारतबाट आर।आर। खजुम र तेजबहादुर वाइवा लगायतले कार्यपत्र पेश गरेका थिए ।
अहिलेसम्म नेपालको राष्ट्रिय जनगणनामा लिम्बु समुदायले आफ्नो धर्म किरात लेखाउँदै आएका थिए । जनगणनामा किरात धर्मलाई चौथो धर्मका रुपमा देखाइएको छ । तर, अब लिम्बु समुदायले किरात धर्म नलेख्ने निर्णय गरेसँगै धार्मिक तथ्यांकमा फेरबदल आउन सक्ने सम्भावना बढेको छ ।
अहिलेसम्म किरात धर्म लेख्नेहरुमा लिम्बु, राई, सुनुवार याख्खा, याम्फूहरुसमेत रहेका छन् । तर, लिम्बु समुदाय अब किरात धर्मबाट बाहिरिने निर्णयमा पुगेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।