असार २६, भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी मुद्दाको सुनुवाइ साउन २ गतेलार्इ सरेको छ । उक्त मुद्दाको सुनुवाइ सोमबार (आज) का लागि तोकिएको थियो । सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा मुद्दाको पेशी तोकिएकोमा न्यायाधीश मिश्रले नभ्याउने भएपछि पेशी सरेको हो ।
यसअघि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलाशले मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित सक्कल कागजपत्र ल्याउन आदेश दिएको थियो । सोहीअनुसार अदालतमा च्यातिएको मतपत्रसहित अरु कागजपत्र सर्वोच्च अदालत पुर्याइसकिएको छ ।
निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयविरुद्ध अधिवक्ता तुलसी पाण्डे र वडा नं १९ का नेकपा एमाले उमेदवार गुञ्जमान विकले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
रिट निवेदनमाथिको पहिलो चरणको सुनुवाइमा न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो।
मतगणनामा भरतपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार एमालेका देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रका रेणु दाहालबीच तीव्र प्रतिस्पर्धा थियो । माओवादी कार्यकर्ताले १९ नं वडाको मतपत्र च्यातेपछि यो विवाद सर्वोच्च अदालतमा पुगेको हो ।