२७ असार, काठमाडौं । विपक्षी दल नेकपा एमालेले संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई संविधान संशोधन प्रस्तावको विपक्षमा तान्ने प्रयास गरेको छ । तर, राप्रपा नेताहरुले संशोधनको पक्षमा उभिने संकेत दिएका छन् ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनाव गरेर मात्र संविधान संशोधन गर्न सकिने पार्टीको अडान सुनाएका थिए । यसबारे राप्रपाले पनि विचार गरोस् भनेर ओलीले भनेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
तर, राप्रपा अध्यक्ष कमल थापाले आफूहरुले संसदमा विचाराधीन संशोधन प्रस्तावप्रति सकारात्मक रहेको बताएका छ्न । उनले भने, ‘हामीले एउटा सन्दर्भमा विरोध गरेका थियौं । पछिल्लो विधेयकमा सीमांकन हटाएर नयाँ रुपमा प्रस्तुत गरिएको र यसलाई अघि बढाउँदा राजपालाई चुनावमा ल्याउन सकिन्छ कि भन्ने छ ।’
संशोधन अघि बढाउँदा प्रमुख विपक्षी एमालेलाई साथमा लिएर मात्र सत्ता पक्ष अघि बढ्नुपर्छ भन्ने मत राप्रपाको रहेको एमाले नेता नेम्वाङले जानकारी दिए ।
राप्रपा अध्यक्ष कमल थापाले संविधान संशोधन सहितका विषयमा छलफल भएको बताए । उनले भने, ‘संशोधन विधेयकमा हाम्रो नैतिक प्रतिवद्धता पहिल्यै कायम रहेको जानकारी गराएको छौं । यसमा -एमाले र राप्रपा मत भिन्नता छ ।’
एमाले संशोधन प्रस्तावको विरोध गर्दै आएको छ । मंगलबार मात्र तीन दलको बैठकमा एमालेले सबै चुनावपछि मात्र संशोधनबारे छलफल गर्न सकिने बताएको थियो ।
श्रोतः अनलाइन खबर