काठमाडौं । नेपाल समाजवादी कांग्रसका केन्द्रीय सदस्यलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ ।
महासचिव गोबिन्द निरौलाका अनुसार थापागाउँको कार्यालयमा बसिरहेका बेला प्रहरीले केन्द्रीय सदस्य पार्वती थापालाई पक्राउ गरेको हो । नयाँ बानेश्वरबाट खटी आएको प्रहरीले थापालाई पक्राउ गरेको पार्टीले जनाएको छ ।
निरौलाले पक्राउ गर्नुको कारण नभएको भन्दै प्रशासनको ज्यादती बन्द गर्नुपर्ने बताउनुभएको छ । ‘ कार्यालयबाट त्यसरी बिनाकारण पक्रनुको अर्थ छैन, प्रजातान्त्रिक सरकारले यस्तो गरेको सुहाएन ’ निरौलाले भन्नुभयो ‘ हामीले अरुलाई असर नहुने गरी विचार राखेका मात्र छौं, जनताको अधिकार खोसेर आतंक मच्चाएका होइनौं ।’ निरौलाले माथिको आदेश भएकाले पक्राउ गरिएको प्रहरीले जवाफ दिएको जनाउनुभयो ।
पार्टीले शुक्रबार बिहान काठमाडौंका विभिन्न स्थानमा पर्चा छरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गरेको थियो ।
पार्टीका केन्द्रीय सदस्य मान गुरुङले प्रहरीले कार्यालयमा पसी कागजात लगेको बताउनुभयो । गुरुङले प्रहरीले कार्यालयसमेत तोडफोड गरेको जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।