१ साउन गैँडाकोट ।

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य आजदेखी सुरु गर्दैछ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो । आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको छ । यसअघि सम्बन्धित जिल्लाभन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि आयोगले यसपटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको हो ।
जिल्ला निर्वाचन कार्यालय नवलपरासीले पनि जिल्लाको कावासोती र परासीमा मतदाता नामावली संकलन गर्ने भएको छ । जिल्लाको प्रदेश नम्बर चार अन्र्तगत पर्ने गैडाकोट, कावासोती, मध्यविन्दु र देवचुली नगरपालिकाका स्थानीयले ईलाका प्रशासन कार्यालय कावासोतीमा पुगेर मतदाता नामावलीमा नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालय नवलपरासीले आग्रह गरेको छ । त्यसैगरी प्रदेश नम्बर चारमै पर्ने नवलपरासीका बुलिगंटार, बुङ्दीकाली, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकाका स्थानीयहरुले पनि ईलाका प्रशासन कार्यालय कावासोतीमै पुगेर नाम दर्ता गर्नुपर्ने निर्वाचन कार्यालय नवलपरासीले जनाएको छ ।

 

मतदाता नमावलीमा नाम दर्ता गराउन नेपाली नगरिकताको परिचयपत्र साथमै लैजान आयोगले आग्रह गरेको छ । त्यसैगरी प्रदेश नम्बर पाँच अन्र्तगतका रामग्राम, सुनवल र बर्दघाट नगरपालिका र सुस्ता, प्रतापपुर, सरावल, पाल्हीनन्दन र विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ६ र ७ का स्थानीय हरुले जिल्ला निर्वाचन कार्यालय परासीमा पुगी नामावली दर्ता गनुपर्ने ब्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले बताउनु भयो ।