मनु वाइवा | म्युजिकल लभस्टोरी जानरामा सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ ले सुखद ओपनिङ गरेको छ । गत शुक्रबार ‘सायद २’ सँगै रिलिज भएको उक्त फिल्मले मल्टिप्लेक्समा भने दोस्रो सातामा प्रदर्शनरत दीपेन्द्र के खनाल निर्देशित ‘धनपति’, रणवीर कपुर र कट्रिना कैफ अभिनीत बलिउड फिल्म ‘जग्गा जासुस’ र हलिउड फिल्म ‘स्पाइडर म्यान : होम कमिङ’ र ‘वार फर द प्लानेट अफ द एप्स’ सँग भिडिरहेको छ । धेरै फिल्मका कारण कम सोज पाएको पल शाह र पूजा शर्मा अभिनीत ‘म यस्तो गीत गाउँछु’ ले राजधानीका गोपीकृष्ण, गुण, गंगा, अष्टनारायणजस्ता मध्यम वर्गीय दर्शकको चाप रहने हलमा पकड जमाएको छ । शुक्रबारको सुखद व्यापारिक नतिजाका कारण हलवालाले शनिबार बिहानैदेखि थप स्क्रिन उपलब्ध गराएका छन् । शुक्रबार कृष्णमा मात्रै रिलिज गरिएको फिल्मलाई शनिबार ‘जग्गा जासुस’ लाई सानो हलमा सारेर गोपीसहित पाँच स्क्रिन ‘म यस्तो गीत गाउँछु’ का लागि उपलब्ध गराइएको छ भने अष्टनारायणको मुख्य स्क्रिनमा समेत यसै फिल्म लगाइएको छ । उक्त हलका अनुसार, फिल्मले शनिबार ‘हाउसफुल’ व्यापार गरेको छ । त्यसैगरी, पुष्पराज न्यौपानेको पहिलो निर्देशन रहेको ‘सायद २’ को व्यापार कमजोर रहे पनि फिल्म हेरेपछिका दर्शकको वर्ड अफ माउथ राम्रो पाएको भन्दै निर्माण पक्षले खुसी व्यक्त गरेको छ । सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डेलगायतको मुख्य भूमिका रहेको ‘सायद २’ मा सुनील रावलको लगानी रहेको छ । यसै फिल्मबाट स्यारोनले नायिकाका रूपमा डेब्यु गरेकी हुन् भने सुशीललाई सुनीलले आफ्नै अघिल्लो ‘होस्टेल रिटन्र्स’ बाट ब्रेक दिएका थिए ।