काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ पुगेका छन् । नेपालको दुईदिने मणमा रहेको मोदी शनिबार बिहान करिब साढे ६ बजे हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुक्तिनाथ पुगेका हुन् ।
मोदीले मुक्तिनाथ मन्दिर नजिक बनाइएको हेलिप्याडमा अवतरण गरेका थिए । उनलाई अतिथि कक्षसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, स्थानीय जनप्रतिनिधिलगायतले उनलाई स्वागत गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार मोदीले मुक्तिनाथमा करिब आधा घण्टा पूजा गरेका छन् । मोदीलाई बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष र जिल्ला समन्वय समितिका सभापतिले कालीगण्डकी नदीको शालिग्राम उपहार दिएका छन् । करिब एक घण्टा मुक्तिनाथमा बिताएपछि उनी काठमाडौं फर्किनेछन् ।
काठमाडौं आएपछि उनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा पनि गर्नेछन् । त्यसपछि मोदी आजै अपरान्ह चार बजे स्वदेश फर्किने छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।