काठमाडौं । राष्ट्रिय नागरिक पार्टीको शनिबार काठमाडौंमा भएको विशेष अधिवेशनले शुक्रबहादुर गुरुङको अध्यक्षतामा ५१ जनाको केन्द्रीय कार्यसमिति गठन गरेको छ ।
वरिष्ठ नेता सिद्वार्थ अधिकारीले ५ वर्षको लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको बताएका छन् । अधिकारी यसअघि अध्यक्ष रहेका थिए । वरिष्ठ उपाध्यक्षहरुमा दिवशबाबु पुरी, कृष्णप्रसाद सिग्देल, केशवनाथ शुक्ला, घनश्याम शर्मा, नवराज घलेसहित ७ जना, महामन्त्रीमा श्री गोबिन्द श्रेष्ठ, घनश्याम भण्डारीसहित ७ जना रहेका छन् । विशेष अधिवेशनले अध्यक्ष, वरिष्ठ नेता, ७ वरिष्ठ उपाध्यक्ष, ७ उपाध्यक्ष, ७ महामन्त्री, ७ सह–महामन्त्री, कोषाध्यक्ष, प्रवक्ता चयन गरेको छ । त्यसैगरी १९ केन्द्रीय सदस्य पनि चुनिएका छन् ।
अध्यक्ष गुरुङले पार्टीलाई नयाँ स्वरुपमा परिस्कृत र परिमार्जन गर्दै लैजाने बताए । उनले अबको अर्को निर्वाचनमा आफ्नो पार्टीले प्रमुख राजनीतिक दलहरुसँग प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन विस्तार गर्ने जनाएका छन् । उनले २ वर्षमा पार्टीलाई वडा तहसम्म विस्तार गरिने योजना रहेको बताए । अधिवेशनमा अन्य पार्टी त्यागेका केही व्यक्तिहरु नागरिक पार्टी प्रवेश गरेका थिए ।
पार्टीले हिन्दु राष्ट्रको स्थापनामा र संवैधानिक राजसंस्था कायम हुनुपर्नेमा जोड दिएको छ । भ्रष्टाचारको अन्त्य, सुशासन र नागरिकका हक अधिकार स्थापित गर्ने विषयलाई पनि पार्टीले मुख्य एजेण्डा बनाएको छ । २०७० सालमा स्थापना भएको पार्टीले २०७० र २०७४ सालको संसदीय निर्वाचनमा भाग लिएको थियो । फूलसहितको गमला चुनाव चिन्ह रहेको पार्टीको अब चंगा निर्वाचन चिन्ह रहने छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।