नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाली काग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला असारको पहिलो साता हुने भएको छ । मकवानपुरको हेटौडामा हुने सभापतिहरुको भेला पार्टी विधान शंशोधनको मस्यौदा तयार पार्नुका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मुल्याङ्कन पद्धति र संगठनात्मक व्यवस्था सम्बन्धि ठोस प्रस्ताव तयार पार्न केन्द्रित हुने भएको छ ।
काग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार जिल्ला सभापतिहरुको भेला अषाढ ५ देखि ७ गते सम्म तीन दिन सञ्चालन गर्ने मिति तय भएको छ । यस अघि काग्रेस केन्द्रिय समितिले जिल्ला सभापति भेला एवं गाउ र नगरपालिका तहसम्मको पार्टीको सांगठनीक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरु मार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधन लगायत कार्यको तयारी गरी २०७५ भाद्र महिनामा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो ।
जिल्ला सभापतिहरुको भेलाले तयार पारेको उक्त प्रस्ताव केन्द्रिय समिति र महासमिति बैठकमा लैजाने बताइएको छ । काग्रेस केन्द्रिय समिति बैठकले विधान मशौदा समिति गठन गर्ने निर्णय गरिसकेको छ भने यस अघि जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आयोजना तयारी बैठकले काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यको संयोजकत्वमा गठित विधान परिमार्जन प्रस्ताव समिति गठन गरेको थियो । यो समितिमा धादिङ, सिन्धुली, पाचथर र कालिकोटका जिल्ला सभापति सदस्य रहेका छन् । यो समितिमा प्रत्येक प्रदेशको सहभागिता हुने गरि सदस्य थप गरि विधान परिमार्जन गर्नु पर्ने विषयको तयारी गरिरहेका छन् ।
स्थानीय, प्रदेश तथा केन्द्रीय तहमा भएको राज्य पुर्नसंरचना मुताविक पार्टीको पुर्नसंरचना गर्न पार्टीको विधानमा समयानुकल परिमार्जनगर्ने केन्द्रिय समितिको निर्णय अनुसार जिल्ला सभापतिहरुको भेला विधानमा विधानमा विशेष केन्द्रित हुन लागेको हो । जिल्ला सभापतिहरुले विधान संशोधनको लागि सुझाव मात्र दिन सक्छन् । विधान संशोधनको निर्णय भने महासमिति बैठकले मात्र गर्न सक्छ ।
अहिले हुन लागेको काग्रेस जिल्लासभापतिहरुको राष्ट्रिय भेला चौथो हो । पहिलो भेला काठमाडौंमै भएको थियो भने दोस्रो भेला काभ्रेको धुलिखेलमा भएको थियो । तेस्रो भेला सिन्धुपाल्चोकमा आयोजना गरिएको थियो । यो चौथो भेला नुवाकोटमा गर्ने जिल्ला सभापतिहरुले प्रस्ताव गरेका थिए। यस बारेमा केन्द्रिय कार्यालयले मकवानपुरको हेटौडामा भेला गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको एजेण्डा बारे नुवाकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसि भन्नुहुन्छ– पहिलो एजेण्डा काग्रेसले स्थानीय, प्रान्तिय र संघीय तिनै तहको निर्वाचनमा लज्जासपद पराजय भोग्नु परेको कारण के हो र नेतृत्व कहाँ कहाँ चुक्यो भनेर केलाउने हो । दोस्रो एजेण्डा संघीय संरचना अनुसार विधान संशोधन र संगठानीक संरचनाको बारेमा सुझाव दिने हो । आम जनताले काग्रेसको विचारलाई अनुमोदन गरेपनि नेतृत्वमा नल्याएको भन्दै सभापति केसि भन्नुहुन्छ– यसबारेमा पनि सुक्ष्म ढंगले विष्लेषण हुन्छ ।
जिल्ला सभापतिहरुको भेलामा यसअघि केन्द्रले निरंकुशता लाद्दै जिल्ला सभापतिहरुलाई भुमिका विहिन बनाएको बारेमा पनि वृहत छलफल हुने छ । स्थानीय निर्वाचनमा केन्द्रले विधान विपरित जिल्ला सभापतिलाई भुमिका विहिन बनाएको भन्दै राष्ट्रिय भेलाले पार्टीभित्रको निरंकुशता तोड्ने बारेमा पनि छलफल गर्ने केसी बताउनु हुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।