काठमाडौँ, नेपाल गुणस्तर तथा नापतौल विभागले प्रिन्टर मिटर जडान नगरी सञ्चालन गरेका ट्याक्सीलाई कारबाही शुरु गरेको छ ।
लामो समयदेखि विभागले सूचना जारी गरे पनि प्रिन्टर मिटर जडान नगरेको तथा विभागमा नवीकरण नगरेका ट्याक्सीलाई कारबाही शुरु गरेको हो । यातायात व्यवस्था विभागमा १० हजार ६०० ट्याक्सी दर्ता भए पनि आठ हजार १०० ट्याक्सीमा मात्र प्रिन्टर मेशिन जडान गरिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो । “दुई हजार ५०० ट्याक्सीले अहिलेसम्म प्रिन्टर मेशिन जडान गरेका छैनन्, उक्त ट्याक्सीमाथि छानबिन गरिरहेका छौँ,”– उहाँले भन्नुभयो ।
विभागले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग मिलेर आइतबारदेखि कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्रिन्टर मेशिन जडान नगरेको, नवीकरण नभएको तथा मिटरमा हिँड्न नमान्ने ११९ ट्याक्सीलाई आइतबार कारबाही गरिएको महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताउनुभयो ।
यसैगरी ट्राफिक महाशाखाले यात्रु ठग्ने ट्याक्सीलाई लक्षित गरेर कारबाहीको जनशक्तिसमेत बढाएको छ । पहिले १५÷२० जनाको संख्यामा जनशक्ति खटाउने गरेकोमा अहिले ४० जना जनशक्ति खटाएको महाशाखाले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।