काठमाडौँ । नेपाली फिल्म उद्योगमा निर्माता तथा कलाकार सन्तोष सेनको आफ्नो छुट्टै पहिचान छ । निर्माता सेनको पहिलो फिल्म ‘चंखे शंखे पंखे’ हो । यो फिल्मले खासै कमाल गर्न नसकेपछि पछिल्ला दुई फिल्म ‘प्रेम गीत’ र प्रेम गीत २’ले दर्शहरुको मन जित्नुका साथै बक्स अफिसमा कमाल गर्न सफल बने । निर्माता सेनले पछिल्लो आफ्नो फिल्म ‘प्रेम गीत २’मा आफैले भिलेनको भुमिकामा अभिनय पनि गरे र दर्शकहरुको मन जित्न सफल पनि बने ।
अब भने निर्माता सेनले आफ्नै छोरालाई लिएर नयाँ फिल्म निर्माणमा होमिएका छन् । उनले आफ्नै ६ वर्षिय छोरा आयूब सेनलाई लिएर नयाँ प्रोजेक्ट सुरु गर्न लागेका हुन् । यो फिल्ममा आयुबनै मुख्य कलाकार रहने जानकारी गराउँदै निर्माता सेनले भने, ‘हो, मैले आफ्नै छोरा आयुबलाई लिएर फिल्म गर्दैछु । यसै फिल्मको लागि विगत ६ महिना देखि मण्डला थिएटरमा प्रदिप कुमार चौधरीले आयुबलाई ट्रेनिङ दिईरहेका छन् ।’
त्यस्तै उनले थपे, ‘यो पारिवारिक फिल्म हो । यहाँ आमा छोराको सम्बन्धलाई देखाउन खोजिएको छ, जहाँ आयुबले छोराको भुमिकामा काम गदैछन् । यो फिल्मको मुख्य कलाकार नै आयुब हो ।’
निर्माता सेनका अनुसार यो फिल्म असारको पहिलो साताबाट फ्लोरमा जाँदैछ । निर्माता सेनले आफ्नै ६ वर्षिय छोरालाई लिएर फिल्म बनाउँदै गर्दा ‘दीपेन्द्र सरकार’ निर्माणको घोषणा पनि पहिल्यै गरिसकेका छन् ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।