काठमाडौँ : नेपालमा गणतन्त्र स्थापना भएको ११औँ वर्षिकोत्सवका अवसरमा जनगायक रामेश श्रेष्ठले सांस्कृतिक संस्थानमा एकल सांगीतिक प्रस्तुति गर्ने भएको छ ।
नेपालको राजनीतिक परिवर्तनका लागि जनताको पक्षमा गीतसंगीत प्रस्तुत गर्दै आउनुभएका श्रेष्ठले कलाकर्मी भईकन पनि राजनीतिक परिवर्तनका लागि ठूलो योगदान गर्दै आउनुभएको थियो ।
सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जनगायक श्रेष्ठले ऐतिहासिक कालखण्डमा रचिएका गीतको संरक्षण गर्नपर्ने आवश्यकतामा जोड दिनुभयो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले जेठ १९ गते श्रेष्ठले एकल गायन प्रस्तुति गर्ने र सो अवसरमा उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।
अर्का कलाकार रायन श्रेष्ठले देश र जनताको हितका लागि जनपक्षीय कलाकारको ठूलो योगदान रहेको बताउँदै हामी जस्ता जनताको कलाकारबाट नै देशमा संघीय गणतन्त्र स्थापना भएको बताउनुभयो ।
सुनसरीका कलाकार ओम श्रेष्ठ, वरिष्ठ गीतकार शुभबहादर सोनाम र कलाकार प्रभाकर देव शर्माले जनपक्षीय गीतको महत्वमाथि चर्चा गर्नुभयो ।
कार्यक्रममा जनगायक श्रेष्ठका दुईवटा म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।