काठमाडौं । लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ ।यो विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित गीत हो । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ । सार्वजनिक भएको छ दिनमै उक्त गीत नेपालमा १२ लाखभन्दा बढी पटक युट्युबमा हेरिएको छ । धेरैपछि नेपाली लोकगीत ‘युट्युब टे«डिङ’ को १ नम्बरमा आएको छ ।
सामाजिक विषयवस्तु, मौलिक रचना र प्रस्तुतीकरणका कारण उक्त गीतलाई सर्वाधिक रुचाइएको छ । नेपालमा मात्र नभएर विदेशमा पनि गीतले उत्तिकै दर्शक, स्रोता कमाएको छ । कतार र संयुक्त अरब इमिरेट्समा मा पनि उक्त गीत युट्युब टे«डिङको धेरै अगाडि आएको छ । गीतले विदेशमा रहेका नेपालीको जीवन भोगाइलाई जीवन्त ढङ्गले उठान गरेको छ । “गीतमा हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ”, सर्जक सपूतले भन्नुभयो, “छोटो समयमै धेरैले मन पराउनुभएको छ, प्रतिक्रिया राम्रो आएको छ ।”
विषयवस्तुको छनोट र प्रस्तुतीकरणमा ध्यान दिन सके सफल होइने पाठ आफूले सिकेको सपूतको भनाइ छ । सपूत आफैँ निर्माता रहेको गीतमा रचना, संगीत, स्वर, अभिनय र छायाङ्कन निर्देशनसमेत उहाँकै छ । गीतमा मूल स्वर भने लोकगायक नारायण रायमाझी र गायिका शान्तिश्री परियारको छ । गीतको अन्तिम खण्डमा मात्र सपूतको स्वर सुन्न पाइन्छ । गीत रचना, संगीत र स्वरसँगै म्युजिक भिडियो निर्माणले पनि गीतलाई न्याय गरेको छ । थप भिडियोमा हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=zWJO5JhsT8w]
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।