एजेन्सी। बलिउड अभिनेता सलमान खानले अहिलेसम्म धेरै नायक, नायिकालार्इ बलिउडमा प्रवेश गराएका छन् । यसक्रमलार्इ निरन्तरता दिँदै उनले चाँडै नै आफ्नो साथीको छोरालाई बलिउडमा लञ्च गर्दैछन् । सलमानले कश्मिरको पृष्ठभूमिमा बनिरहेको लभ स्टोरीमा जहिर इकबाललाई भित्र्याएको जानकारी दिएका हुन् ।
ट्वीटरमार्फत सलमानले जहिरसँगको एक बाल्यकालको तस्बिर पोष्ट गर्दै सल्लाह दिएका छन्, ‘जसलाई तिमी प्रेम गर्छौ र जसले तिमीलाई प्रेम गर्छ, उनीहरुलाई सधैं सम्मान गर्नु र उनका लागि सधैं बफादार रहनु ।’
जहिरसँगको फोटो पोष्ट गर्दै सलमानले लेखे, ‘यी बच्चाहरु यति चाँडै कसरी ठूला हुन्छन् । जहिर चाहे जे सुकै होस्, सधैं आफ्नो उत्कृष्ट दिने कोसिस गर । यो याद राख कि जिन्दगीमा सबैभन्दा ठूलो कुरा सम्मान र बफादारी हो ।’
आफ्ना साथी इकबालको फोटो पनि सेयर गरेका सलमानले लेखेका छन् ‘बाल्यकालमा यी मेरा बैंक थिए । मैले अहिले पनि उनलाई दुई हजार ११ रुपैयाँ दिन बाँकी छ । मैले अहिलेसम्म न उनलाई यो पैसा फिर्ता दिएको छु न नै उनले यसको ब्याज मागेका छन् ।’
जहिरकाे अभिनय रहने उक्त फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुनेछ । फिल्ममा निर्माता नितिन कक्कडको निर्देशन हुनेछ ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।