चितवन । दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहामा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हस्तान्तरण गरिने तयारी गरिएको बताउनुभयो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चीनका अधिकारीलाई जहाजको ढोकाको आकार र प्राविधिक टोली पठाउन ताकेता गरिएको बताउँदै चितवन राष्ट्रिय निकुञ्जले खोरका लागि आवश्यक काठ तयार गरेर राखेको जानकारी दिनुभयो । उहाँका अनुसार हाल पिट बुमामा राखिएका गैँडालाई खुला बुमामा राखेर परीक्षण गर्न थालिएको छ । साइटिसको नियमानुसार एक वर्षमा एक जोडी वन्यजन्तु मात्रै अरु देशमा पठाउनुपर्ने हुन्छ । एक जोडी प्रधानमन्त्रीको भ्रमणका क्रममा र अर्को एक जोडी साउन लागेपछि पठाउने तयारी गरिएको छ ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।