कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा सञ्चालित आँखा शिविरमा ३३० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । बेलौरी नगरपालिकाको आर्थिक सहयोग र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा जनजागरण नेपालले शनिबार आयोजना गरेको शिविरमा महिला १८७ र पुरुष १४३ गरी जम्मा ३३० जनाले आँखा जाँच गराएका हुन् ।
शिविरमा आँखा जाँच लागि पुगेका ७३ जनाको निःशुल्क शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा सिफारिश गरिएको जनजागरण नेपालका सल्लाहकार गोविन्दप्रसाद भट्टले बताउनुभयो । शल्यक्रियाका लागि सिफारिश गरिएकामध्ये ७१ मोतिविन्दु र दुई जनामा जलविन्दु देखिएको छ । आँखा शिविरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले शुभारम्भ गर्नुभयो ।
शिविरमा उपस्थित अधिकांश बिरामीले गाउँघरमै सेवा पाउँदा खुशी व्यक्त गरेका छन् । शिविरमा गेटा आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत एवं बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टलगायत प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।