सस्तोमा जग्गा नबेचेको निहुँमा दाङमा एक महिला निर्घात कुटिएकी छिन् । भालुवाङ पुरानो बसपार्कमा रहेको जग्गा सस्तोमा नबेचेको भन्दै अर्घाखाँचीको शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी दिलमाया पुनलाई अन्य दुई महिलाले कुटेका हुन् ।
लाखौँ पर्ने घडेरी ५० हजारमा बेच्न दिएको दबाब दिलमायाले अस्वीकार गरेपछि रेखा गुप्ता र अनिता गुप्ताले अर्धनग्न बनाउँदै कुटपिटका हुन् । उनीहरूले दिलमायालाई मैदानमा पछारेर लाठी र लात्तीले हान्दै लगाएको कपडासमेत च्यादिदिएको भिडियोमा प्रस्टै देख्न सकिन्छ ।
दिलमायामाथि रेखा र अनिता गुप्ताले आक्रमण गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिरिएको हो । घटना शुक्रबारको भए पनि भिडियो सार्वजनिक भएसँगै सोमबार मात्रै घटनाबारे चर्चा भयो । भिडियोमा हरियो कुर्ता र रातो सुरुवाल लगाएकी दिलमायालाई रेखा र अनिताले निर्मम कुटपिट गरेको देखिन्छ । उक्त भिडियो भालुवाङ बसपार्कको हो ।
दिलमायामाथि आक्रमण गर्ने महिलालाई ‘मम्मी भयो के छाड्दिनुस्’ भनेर आग्रह गरेको भिडियोमा सुनिन्छ । तर, उनी रोकिएकी छैनन् । बरु लात्तीमुंग्रीले मात्रै नपुगेर दिलमायाको कुर्ता च्यातिदिएको देखिन्छ । अर्धनग्न भएकी दिलमाया च्यातिएको कुर्ताको टालोले लाज छोप्न खोज्छिन्, तर त्यो गर्न पनि दिँदैनन् ।
आइतबार भिडियो भाइरल भएपछि र दिलमायाका आफन्तको दबाबपछि दोषीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । प्रहरीले सामान्य घटनाका रूपमा हेरेको भालुवाङ घटना भिडियो सार्वजनिक भएसँगै तरंगित बन्योे । घटनाको भिडियो भालुवाङ निवासी रितु रानाले आफ्नो फेसबुक वालमा पोस्ट गरेकी थिइन् । सोमबार महिला समूह तथा दिलमायाका आफन्तले प्रहरी कार्यालय घेराउ गरे ।
उनीहरूले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिए पनि प्रहरीले केही सार्वजनिक अपराधअन्तर्गत मुद्दा दर्ता गरेर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । दिलमायालाई कुटपिट गर्ने राप्ती गाउँपालिकाकी ३५ वर्षकी रेखा गुप्ता र २९ वर्षकी अनिता गुप्तालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डेले बताए ।
भालूबाङ मा हेर्नूहोस यउटा नारीले अर्को नारीलाइ बिच रोडमा यसरी कूट पिट गरीय कोइनिहरूलाइ कडा भन्दा कडा सजाय दिनू पर्छ कृपया सेर गरीदिनू होला
Posted by Ritu Rana on Saturday, June 9, 2018
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।