नेपाल समाचारपत्र, हेटौंडा । राष्ट्रिय योजना आयोगले सन् २०१६ मा प्रकाशन गरेको मानवविकास सूचकांकमा मकवानपुरले शून्य दशमलव ४९७ अंक पाएको छ । यसअनुसार हेर्ने हो भने प्रदेश–३ मा मकवानपुर सातौं स्थानमा पर्दछ ।
मकवानपुरभन्दा अगाडि काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक छन् । रामेछाप, नुवाकोट, रसुवा, धादिङ, दोलखा र सिन्धुली जिल्ला मकवानपुरभन्दा मानवविकासमा पछाडि छन् ।
त्यसैले अबको विकास अनुसन्धान र मूल्यांकनबाट प्राप्त तथ्यांकको गहन अध्ययन र प्रमाणमा आधारित हुने मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभयो ।
दीगो विकास लक्ष्य समयअगावै हासिल गर्न र प्रदेशको दीर्घकालीन लक्ष्यसहित जनमैत्री विकास योजनाको खाका निर्माणका लागि विद्यमान तथ्यांकको आधारमा अगामी दश वर्षमा हासिल गर्ने सूचकको लक्ष्य निर्धारण गरी कार्य गर्न मुख्यमन्त्रीको अध्यक्षता रहने गरी ‘प्रदेश विकास परिषद् गठन’ गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
जसअन्तर्गत् नीति तथा योजना आयोग गठन गरी क्षेत्रगत तथा विषयगतविज्ञ तथा प्रवुद्ध समूह परिचालन गरिनेछ । आयोगले दश, बीस र पचास वर्षे गुरुयोजना तयार गर्नेछ । प्रदेशको वृहत् वस्तुस्थिति विवरण तयार गरी प्रदेशको सवल एवम् दुर्वल पक्ष र सम्भावना एवम् चुनौतीको लेखाजोखासहित समृद्ध प्रदेशका लागि दीर्घकालीन लक्ष्य, क्षेत्रगत उद्धेश्यसहित विकास योजना तर्जुमा गरी वार्षिक कार्ययोजना कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
‘प्रदेशका रणनीतिहरु गरिबी निवारण गर्ने दिशामा केन्द्रित हुनेछन्,’ उहाँले भन्नुभयो ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने भावनालाई केन्द्रमा राखेर इतिहास रच्ने सोचसाथ आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम तयार पारिएको भन्दै मुख्यमन्त्री पौडेलले यसको लागि प्रवल इच्छाशक्ति, उत्कृष्ट योजना निर्माण, सशक्त कार्यान्वयन र भ्रष्टाचारविरुद्ध कठोर कदमसाथ अघि बढेर प्रदेशका सार्वभौम जनताको पहलकदमी र सहभागितामा विकासको साझा सँस्कृति निर्माण गर्दै गरिबी निवारण, बेरोजगारी अन्त्य, उत्पादक शक्तिको उच्चतम् विकास, योग्यताअनुसार काम, सबै प्रकारका विभेद अन्त्य र लोककल्याणकारी राज्यको स्थापनाद्वारा विकास र समृद्धि प्राप्त गरी प्रदेशवासीको शिर ठाडो बनाएर समाजवादउन्मुख बाटो अँगाल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
मानवविकास सूचकांकमा १ लाई पूर्णांक मानिन्छ । एकबाट जति टाढाको अंक पायो, त्यसले उति नै कमजोर अवस्था दर्शाउँछ । मानवविकास सूचकांक मानवको जीवन अपेक्षा, शिक्षा र आय सूचकांकलाई प्रयोग गरेर निकालिएको समग्र तथ्यांकले कुनै पनि स्थानको मानवविकास निकाल्ने गरिन्छ ।
मानवविकास सूचकांक निरपेक्ष नभएर सापेक्ष हुन्छ । यो सूचकांकको गणना गर्दा मुख्य तीन सूचकहरु औसत आयु, साक्षरता र प्रतिव्यक्ति आयलाई समावेश गरिन्छ । स्वास्थ्यबारे सबै किसिमका सूचनाहरु समेट्न कठिन हुने हँुदा स्वास्थ्यको सांराशको रुपमा प्रत्याशित आयुलाई समावेश गरिन्छ ।
शिक्षाको सरल सारांश नापको रुपमा औसत साक्षरतादर र स्कुल भर्नादरको औसतलाई समावेश गरिन्छ । जीवनयापन स्तरको नाप गर्न प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनबाट उपलब्ध औसत क्रयशक्तिको आधारमा प्रतिव्यक्ति आय गणना गरी समावेश गरिन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।