भक्तपुर, (नेस) । भक्तपुरलाई स्थायी राजधानी निर्धारण गरेमा प्रदेश सभाको बैठक बस्ने स्थानको रुपमा पहिचान गरेको बोडे स्थित कृषि विकास बैंकको तालिम हलमा भएको सुझाब संकलनमा सहभागि जनप्रतिनिधीहरुले भक्तपुर मै स्थायी राजधानी बनाउँनु पर्ने तर्क राखेका छन् ।
छलफलमा प्रतिनिधसभा सदस्य तथा पुर्वमन्त्री महेश बस्नेतले भक्तपुरको मात्रै नभई सिंगो ३ नम्वर प्रदेशको हितका लागि भक्तपुर स्थायी राजधानी हुने चर्चा गर्दै केन्द्रीय राजधानीसंग जोडिएको भन्ने तर्क वाहेक भक्तपुर प्रदेश राजधानी हुन नहुने कुनै कारण नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो–“मध्यपुर थिमि र मनोहरा कागेश्वरी नगरपालिकालाई समेटेर सरकारले एक लाख रोपनी जग्गामा आधुनिक सहर बनाउन लागेको छ, । त्यसका लागि सरकारले डिपिआर निर्माणका लागि १२ करोड रुपैया बजेट समेत छुट्टाईसकेको छ, त्यसैमा प्रदेश सरकारका मन्त्रीहरुको लागि आवश्यक क्वार्टर समेत निर्माण गर्ने तय भएको छ, यो ठाउँ चौतर्फी सडक, भौतिक संरचनाको पहुँच भएकाले पनि भक्तपुर प्रदेश राजधानी उपयुक्त हुन्छ ।”
छलफलमा ३ नं. प्रदेशका प्रदेश सदस्य शशीजंग थापाले भक्तपुर नै प्रदेश राजधानी हुनुपर्ने १० वटा तर्क राख्नुभयो । नेपाल मजदूर किसान पार्टीबाट प्रतिनिधित्व गर्ने ३ नम्वर प्रदेशका प्रदेश सदस्य सिर्जना सैजूले भने भक्तपुर मात्रै नभई राजधानी काठमाण्डौंको वरपर नै राख्न नहुने बताउनुभयो ।
प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले प्रदेशको राजधानी सम्भाव्यता अध्ययन गर्ने क्रममा भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको हो । प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका जिल्लाहरुको अध्ययनका गर्ने क्रममा समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो ।
छलफलमा नापी कार्यालय भक्तपुरका प्रमुख ज्ञानेन्द्रकुमार बिष्ट तथा सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय भक्तपुरका महेश चित्रकारले विगतमा भएका अनुगमनका बारेमा चर्चा गर्दै भक्तपुर प्राविधिक र भौगोलिक दृष्टिकोढाले प्रदेश राजधानीका लागि उपयुक्त भएको बताउनुभयो ।
जिल्लामा रहेका सरकारी भौतिक संरचना र विकास निर्माणको अबस्थाको अध्ययन गरिएको जानकारी दिदै समितिका सभापति निरौलाले समितिले अधिकतम रुपमा सबैलाई पायक पर्ने स्थानको निर्णय गर्दै यहाँको यथार्थ विवरण लगेर प्रदेश संसदमा पेश गर्ने बताउनुभयो ।
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, मध्यपुरथिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, नेकपाका भक्तपुर जिल्ला अध्यक्ष बचन देउजा, नेकपाका नेता देबेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला नेता निशान ढुङ्गेल,नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी लगायतले सबै दृष्टिकोणबाट भक्तपुर प्रदेश राधानी उपयुक्त भएको सुझाब राख्नु भएको थियो ।
भक्तपुर, काभ्रे र नुवाकोटको अध्ययन पूरा गरेको समितिले अब चितवन र मकवानपुरको अध्ययन पश्चात आगामी असार १० गते प्रतिवेदन पेश गर्ने भएको छ । समितिको म्याद असार ११ गते सकिदैँछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।