अनुपस्थित भएकोमा वडाअध्यक्षप्रति असन्तुष्टि व्यक्त
नेपाल समाचारपत्र, ललितपुर ।
वडाको विकासमा युवावर्गको सहभागितालाई सुनिश्चित गर्नुपर्ने खाचो सम्बद्ध व्यक्तिहरुले औल्याएका छन् ।
ललितपुर महानगरपालिका वडा –११ शिक्षा, युवा तथा खेलकूद समितिले शुक्रबार स्थानीय च्वबु गाहिटीमा आयोजित वडाको विकासमा युवावर्गको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सो खाचो औल्याइएको हो ।
उनीहरुले वडाको योजना तर्जुमा, योजना कार्यान्वयनमा युवावर्गको सहभागिता सुनिश्चित गराउनुपर्नेमा पनि जोड दिए । वडाका विभिन्न टोलका युवावर्गको आवश्यकता पहिचान गरी योजना तर्जुमा गर्न र वडा स्तरीय सञ्जाल निर्माण गर्ने उद्देश्यले सो अन्तक्र्रिया कार्यक्रम गरिएको समितिका संयोजक एवं वडा सदस्य कृष्ण महर्जनले जानकारी गराउनुभयो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै युवावर्गको सामाजिक, आर्थिक, विकासमा स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । युवावर्गलाई रचनात्मक गतिविधिमा संलग्न गराउन नसके समाज विकासको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन नहुने र कुलतमा फस्न सक्ने खतरातर्फ पनि अध्यक्ष महर्जनले सजग गराउनुभयो ।
सो अवसरमा ललितपुर महानगरपालिका वडा नं ११ का वडा सदस्य एवं कार्यपालिका सदस्य आपुलु शाक्यले चालू आर्थिक वर्षमा युवा लक्षित बजेट विनियोजित गर्न नसकेपनि आउदो आर्थिक वर्षमा वडास्तरीय युवा भेला, युवा सशक्तिकरण, नेतृत्व विकासका लागि बजेट विनियोजित गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय युवा महासंघ ललितपुर शाखाका अध्यक्ष राजेश बज्राचार्यले वडा, टोल, गुठी लगायत सामाजिक संस्थाले युवावर्ग सक्रिय हुने,क्षमता गर्ने र विकास गरेका क्षमता सदुपयोग गर्ने वातावरण तयार गर्नुपर्ने दायित्व रहेको बताउनुभयो ।
‘हरेक कुरामा प्रश्न गर्ने, विद्रोह गर्ने युवावर्गको स्वभावले गर्दा समुदायको नेतृत्व गरिराखेका व्यक्तिहरुले युवावर्गको परिचालनमा प्राथमिकता नदिने गरेको छ । यस्तो सोचमा परिर्वतन गरी युवामैत्री वातावरण तयार गर्नुपर्ने आजको समयको माग हो ।’ अध्यक्ष बज्राचार्यले भन्नुभयो ।
महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक केशरी न्यौपानेले आम सरोकारसंग जोडिएको प्रहरीको कार्यक्रममा युवावर्गको सहभागितालाई सुनिश्चित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा च्वबु गाहिटी टोल सुधार समितिका अध्यक्ष दिनेश महर्जनले धार्मिक, सांस्कृतिक रुपले विशिष्ट रहेको वडाको समग्र विकासमा युवावर्गको भूमिका सुनिश्चित गराउन टोल विकास संस्था, सामुदायिक संस्थाले वडाका जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।
सो अवसरमा अधिवक्ता लक्ष्मण महर्जनले किशोरकिशोरी अवस्थादेखि औपचारिक पढाईका अतिरिक्त अतिरिक्त क्रियाकलापमा सहभागी गराउन र हुने माहौलले समाजको लागि उपयोगी, क्षमतावान युवा उत्पादन हुने बताउनुभयो ।
बौद्ध युवा कमिटीका पूर्वअध्यक्ष समेत रहनुभएका सञ्चारकर्मी सुनील महर्जनले विकास भनेको कसैले कसैलाई किस्तीमा राखेर दिने विषय नभई लक्षित वर्गको समेत सक्रियतामा हुने परिर्वतनको प्रक्रिया रहेको धारणा राख्नुभयो । पूर्वअध्यक्ष महर्जनले युवावर्गको सहभागिता सुनिश्चित नगरीकन वडालाई दिएको अधिकार कार्यान्वयन र विकासको गतिलाई अघि बढाउन नसक्ने बताउनुभयो ।
सो अवसरमा सहभागीहरुले वडास्तरीय सञ्जाल निर्माण गर्नुपर्ने, नेपाल भाषा संस्कृतिको एप्स निर्माणको लागि बजेट विनियोजित गर्नुपर्ने, भाषा, संस्कृति संरक्षणमा लागेका महिलाको क्षमता विकास, खेलकूदको विकास लगायत युवावर्ग लक्षित कार्यक्रममा बजेट विनियोजित गर्न माग गर्नुभयो ।
वडाअध्यक्षप्रति असन्तुष्टि व्यक्त
वडाले पहिलो पटक आयोजना गरेको सार्वजनिक समारोहमा समेत वडाअध्यक्ष इन्द्रमान महर्जन अनुपस्थिति भएपछि सहभागीहरुले असन्तुष्टि पोखेका थिए । औपचारिक पत्र दिएर प्रमुख अतिथि बन्न स्वीकार गर्नुभएका वडाअध्यक्ष महर्जन कुनै जानकारी नै नदिइकन अनुपस्थिति भएकोमा सहभागीहरुले वडाअध्यक्षको महर्जनको कार्यशैलीको आलोचना गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।