हेटौंडा, (नेस)
हेटौंडा उपमहानगरमा साझा यातायात सञ्चालनमा आएको छ । हेटौंडा बजार क्षेत्र र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका अटो र मयुरीले यात्रुसँग बढी भाडा असुल गरेर हैरान बनाएको गुनासो सुनिएको अवस्थामा साझा यातायात सञ्चालनमा ल्याइएको हो ।
उपमहानगर क्षेत्रमा २ सय ५० वटा अटो र मयुरी सञ्चालन अनुमति दिइए पनि हेटौंडामा १ हजार ३ सय भन्दा बढी अटो र मयुरीका कारण ट्राफिक क्षेत्रमा धेरै समस्या भएकाले यात्रु आवागमनका लागि बसले सहज सेवा दिने अपेक्षा छ ।
उपमहानगरपालिकासँगको समन्वयमा मकवानपुर साझा यातायात प्रालिले ११ वटा बस सञ्चालनमा ल्याएको हो । साझा यातायात सेवा प्रारम्भ गर्दै मेयर हरिबहादुर महतले यात्रुलाई मुस्कानसहित सेवा दिन आग्रह गर्नुभयो ।
आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनीसँगको समन्वयमा बस सञ्चालनमा ल्याइएको मेयर महतले बताउनुभयो । हेटौंडाको मुख्य बुद्धचोकबाट साझा बस चढेर मेयर महत, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ, हेटौंडाका वडाका अध्यक्षलगायतलाई बसमा यात्रा गराएर उद्घाटन गरिएको थियो । हेटौंडाका सबैजसो वडाका नागरिकलाई सुरक्षित यात्रा गराउनु उपमहानगरको दायित्व भएकाले सेवा अझ बिस्तार गरिने मेयर महतको भनाइ छ ।
हेटौंडाको बुद्धचोकदेखि पिपलबोट, लोकप्रियचोक, नगरपालिका रोड, सिचार्इंटोल, कान्तिलोकपथ हुँदै राप्तिरोडमा अतिथिहरुलाई यात्रा गराएपछि सेवा सञ्चालनमा आएको छ । मकवानपुरका यात्रुको मागलाई ध्यानमा राखेर उपमहानगरको नियन्त्रणमा भाडादर कायम गर्ने गरी यातायात सञ्चालनमा ल्याइएको हो ।
उपमहानगरको समन्वयमा सञ्चालन भए पनि प्रालि दर्ता गरेर बस सञ्चालनमा ल्याइएको प्रालि अध्यक्ष भेष खड्गीले जानकारी दिनुभयो ।
निकट भविष्यमा २० वटा बस सञ्चालनमा ल्याइने खड्कीले बताउनुभयो । नगरबस हेटौंडा बजार क्षेत्र, भित्री सडक, हटिया, हर्नामाडी, बसामाडी, मनहरीलगायत क्षेत्रमा सञ्चालन गरिने छ । महिला सहचालकसहित बससेवा सुरु गरिएको छ । हेटौंडाका १० ब्यवसायीको ३ करोड ५० लाख रुपियाँ लागतमा सञ्चालन गरिएको बसबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।