विराटनगर, (नेस)
विराटनगर अस्पताल अगाडि खुलेको फार्मेसीले उपचार गर्न आएका एक युवालाई ६४ हजारको औषधि दिएर एक लाख २९ हजारको बिल बनाएको पाइएको छ । अस्पताल अगाडि खुलेको महाकाल मेडिकल हलले श्याम मगरको उपचारका लागि गत सोमवार यता ६४ हजार बरावरको औषधि दिएर एक लाख २९ हजार ६ सय रुपैयाँको बिल बनाएको पाइएको हो ।
फार्मेसीले बढी औषधि दिएको बिल बनाएर ठगी गरेको थाहा पाएपछि मगरका भाइ पूर्णबहादुरले प्रहरीलाई खबर गरेका थिए । उजुरी परेपछि प्रहरीले फार्मेसीका सञ्चालक आशिष भगतलाई पक्राउ गरेको छ । फार्मेसीका सञ्चालकले गत सोमवारदेखि सघन उपचार कक्ष (आईसीयू)मा उपचार गराएका मगरका लागि १ लाख १९ हजार ६ सयको औषधि दिएको हिसाव आफन्तलाई बुझाएका थिए ।
फार्मेसीले अस्पतालबाट डाक्टरले दिएको पूर्जा (औषधिको नाम लेखिएको चिर्कटो) मा भन्दा बढी औषधि दिएको हिसाब देखाएको थियो । फार्मेसीले २ थान औषधिलाई १२ थान, ९ थान औषधिलाई १९ थान बनाएर लेखेर ठगी गर्न खोजेको थियो । औषधिको मूल्य पनि सामान्य भन्दा बढी पाइएपछि प्रहरीमा उजुरी गरेको भाइ पूर्णले जानकारी दिए ।
अस्पतालले औषधि ल्याउन दिएको पूर्जीको सक्कलमा इन्जेक्सन नोराल्ड २ एमएल ९ थान लेखिएको छ । तर फार्मेसीले ९ को अगाडि १ थपेर १९ बनाएको छ । १९ वटाको मूल्य ५ हजार ७ सय ९५ लेखेको छ । त्यस्तै डाक्टरले २ वटा औषधि ल्याउन दिएको पूर्जीमा पनि २७ सय र ३७ सयको नयाँ औषधिको नाम थपेर लेखिएको छ ।
आईसीयूमा राखेका मगरलाई काठमाडौं लैजान रेफर गरेपछि उनको परिवारले बिहीबार घर लैजाने तयारी गरेको थियो । घर लैजानुअघि औषधिको हिसाव गर्दा एक लाख २९ हजारको बिल देखाएपछि आफन्त हच्किएका थिए । सुरुमा बिल घटाउन नमानेका फार्मेसी सञ्चालक गुप्ताले विरामीका आफन्तले प्रहरीलाई खबर गरेपछि पुनः हिसाव गर्दै ६४ हजार रुपैयाँ तिर्नुपर्ने हिसाव देखाएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।